राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश

सोमबार, जेठ २, २०७९

काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको उभौली पर्वले सम्पूर्ण नेपाली बीचको सामाजिक, सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने  शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आज जारी गरेको सन्देशमा नेपाली किराँत समुदायको महान पर्व उभौलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
“प्रकृतिको ऋतुचक्रसँग तादात्म्य कायम गरी कृषिबाट जीवनवृत्ति गर्ने समुदायले ठूलो महत्वका साथ मनाउने उभौली पर्वले मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै प्रकृति र वातावरणको संरक्षणका लागिसमेत हामी सबैलाई उत्प्रेरित गर्दछ भन्ने मलाई लाग्दछ”, सन्देशमा भनिएको छ, “उभौलीजस्ता सांस्कृतिक पर्वहरूका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुन गई बृहत् राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दछु ।”
किराँत समुदायमा प्रकृति र पितृ पूजनको समृद्ध संस्कृति विद्यमान छ । गृष्म ऋतुसँगै वर्षातको मौसमसमेत प्रारम्भ हुने हुनाले उभौली पर्व मनाउने सिलसिलामा अन्नबाली सप्रियोस् । रोगव्याधि नलागोस् । सुख्खाखडेरी, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिहरू नआऊन भनी पितृ र भूमिको पूजा गर्ने परम्परा रहेको छ ।
जाडो यामको अन्त्य र गर्र्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमा ९ वैशाख पूर्णिमालाई उभौली पर्वको रूपमा मनाइन्छ । विशेषगरी पूर्र्वी पहाड र तराईका जिल्लाहरूका साथै काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायमा यो पर्वलाई भव्यताका साथ मनाउने गरिन्छ ।–रासस

 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार