मनाइयो सीता उत्पत्ति दिवस (जयन्ती)

बुधबार, वैशाख २८, २०७९

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं उहाँका सत्कर्मको सम्झना गरी मनाइएको छ ।
त्रेतायुगमा वैशाख शुक्ल नवमीका दिन मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको प्रसङ्ग रामायणलगायत पुराण एवं धर्मग्रन्थमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्म हुने भएपछि भगवती लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रूपमा सीताको सम्झना गरिन्छ ।
अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाई अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् गौतम बताउँछन् ।
अयोध्यामा आएका लव, कुशले रामायणको कथा सुनाई सीता निर्दोष भएर पनि वनमा बस्नु परेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।
दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप भएकी थिइन् ।
प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उनी धर्तीको कोखमा लुप्त भएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन् ।

सीता उत्पत्ति हुनुभएको भए पनि आजको दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइएको छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लागेको जनाइएको छ । सीताका आदर्श गुणबाट आम मानिसले शिक्षा लिन सक्ने भएकाले राष्ट्रिय विभूतिका रूपमा घोषणा गरिएको हो ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार