फेसबुक र अस्ट्रेलियाली सरकारबीचको विवाद मिल्यो 

फेसबुकमा समाचार राख्द पैसा तिर्नु नपर्ने 
मंगलबार, फागुन ११, २०७७

सिड्नी । प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार माध्यमका सामग्री प्रकाशन गरे त्यसबापत भुक्तानी गर्नुपर्ने कानुन ल्याएपछि विवाद उत्पन्न भएको थियो ।  फेसबुकले सञ्चार माध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु सञ्चार माध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो । अस्ट्रेलिया सरकारले सञ्चार माध्यम र फेसबुक दुबैलाई मान्य हुने किसिमले कानुन संशोधन गर्न राजी भएपछि विवाद समाधान भएको हो । अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेन्बर्ग र फेसबुकबीच केही महत्वपूर्ण विषयमा सहमति भएको बताइएको छ । फेसबुक अस्ट्रेलियाका व्यवस्थापन निर्देशक विल एस्टोनले जनचासोको पत्रकारिताका क्षेत्रमा थप लगानी गर्न फेसबुक इच्छुक रहेको बताउँदै आगामी दिनमा अस्ट्रेलियाली नागरिकका लागि फेसबुकमा समाचारको पहुँच बढाइने जानकारी दिए ।  फेसबुकले अस्ट्रेलियाली सञ्चार माध्यमबाट प्रवाहित समाचारमा रोक लगाएसँगै अस्ट्रेलियाली जनमानसमा नकारात्मक असर परेको थियो ।  अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले फेसबुकको कदमप्रति रोश प्रकट गर्दै कडा आलोचना गरेका थिए । अस्ट्रेलियाको संसदले यसै साता पारित गर्न लागेको कानुनमा फेसबुक र गूगलले स्थानीय संचार माध्यमलाई भुक्तानी गरेमा थप दण्डित नगरिने उल्लेख छ ।  गूगल र फेसबुकलाई मध्यस्थताका लागि दुई महिनाको समय थप गरिएको छ । दुबै प्रविधि कम्पनीले अस्ट्रेलिया सरकारले अघि बढाएको कानुन उपयुक्त नभएको भन्दै आपत्ति जनाएका थिए । एक अध्ययन अनुसार, हाल अस्ट्रेलियाली विज्ञापनदाताहरुले विज्ञापन बापत १०० डलर खर्च गरे गूगलले ४९ डलर र फेसबुकले २४ डलर प्राप्त गर्दछन् । – एएफपी 
 

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार