साझाको ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’ सार्वजनिक

शुक्रबार, पुस ३०, २०७८

काठमाडौँ, ३० पुस । साझा प्रकाशनद्वारा प्रकाशित तथा प्रा नीलमणि ढुङ्गानाद्वारा तयार गरिएको ‘व्युत्पत्तिमूलक संस्कृत—नेपाली शब्दकोश’ को आज लोकार्पण गरिएको छ । सो प्रकाशनको २५औँ साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीले सो कृतिको विमोचन गरेका हुन् । कूल एक हजार ४२२ पृष्ठको सो विशेष ग्रन्थमा ३५ हजार शब्द सङ्कलन एवं व्यूत्पादन गरिएको छ । विविध वाङ्यमयका क्षेत्रका अध्येताहरुका लागि उपयोगी हुनेछ । मन्त्री श्रेष्ठले साझा प्रकाशनले उपयोगी कृतिहरुको प्रकाशनका माध्यमबाट संस्थाको छविलाई पुनःजागृत गराउनुपर्ने बताउँदै त्यसमा सरकारका तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाइन् । प्रकाशनका अध्यक्ष डा विजय सुब्बाको अध्यक्षतामा सम्पन्न सो सभामा प्रकाशनले विसं २०६९ देखि घोषित विभिन्न पुरस्कारका प्रतिभालाई पुरस्कार प्रदान गरियो । प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेलले साझा प्रकाशनलाई बचाउन सबै पक्षबाट सहयोगका लागि आह्वान गरे ।–रासस

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  २०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार