काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ र कास्की कोरोनोको हटस्पट

१५ हजार परीक्षण गर्दा तीन हजार बढीमा सङ्क्रमण
शुक्रबार, पुस ३०, २०७८

काठमाडौँ, ३० पुस । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३ जनामा देखिएको छ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५५३ सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० पुगेको छ ।  
पछिल्लो समय थप २७१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १५ हजार ३४७ पुगेको छ । निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा एक जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६१० जनाको निधन भएकोे छ । ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, चितवन मकवानपुर, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।
शून्य सङ्क्रमित भएका जिल्लामा मुगु मात्र छ । नेपालमा सङ्क्रमण दर १६.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा १३  हजार ५०३, संस्थागत आइसोलेशनमा ८३७ आइसियूमा ११० र भेन्टिलेटरमा २५ जनाको उपचार हुँदैछ । 

तीन लाख बढीले खोप लगाए
विगत २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ५४ लाख ६४ हजार ३३५ जना र पूर्ण मात्रा एक करोड १६ लाख ९१ हजार ३९३ जनाले लगाइसकेका छन् । 

सुदूरपश्चिममा एकैदिन ३१८ जनामा सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन थप ३१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  पीसीआरमार्फत ६३ र एन्टिजेनमार्फत २५५ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ४७, महाकाली अस्पतालमा १६ र एन्टिजेनमार्फत कञ्चनपुरका १२०, कैलालीका ११२, डोटीका ११, बैतडीका सात र दार्चुलाका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ ।   यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बुधबार यस प्रदेशमा २५४ जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।

प्रदेश १ मा २९२ जनामा कोरोना सङ्क्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ ।
    मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा दुई, धनकुटा, सङ्खुवासभा, इलाम, पाँचथर र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण भएको हो । 
मोरङको विराटनगरमा ११४, सुन्दरहरैँचामा चार, पथरीशनिश्चरे, बुढीगङ्गा र कटहरीमा दुई÷दुई, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनवर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा एक÷एक, सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा तीन, दुहवी र देवानगञ्जमा दुई÷दुई, झापाको विर्तामोडमा नौ, भद्रपुरमा सात, दमक र मेचीनगरमा चार÷चार, अर्जुनधारा र शिवसताक्षीमा दुई÷दुई, बुद्धशान्ति, कचनकवल, बाह्रदशी, हल्दिबारी र कनकाईमा एक÷एक, उदयपुरको त्रियुगा र कटारीमा एक÷एक, धनकुटाको धनकुटा नगरपालिका, सङ्खुवासभाको पाँचखपन, इलामको चुलाचुली, पाँचथरको मिक्लाजुङ र भोजपुरको षडानन्दमा एक÷एक र प्रदेश  बाहिरका ११ जनामा सङ्क्रमण भएको हो । प्रदेशमा चार महिलासहित आठ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ८३८ रहेको मन्त्रालयले जनाएको छ ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार