अध्यक्ष नै स्वयम्सेवक शिक्षक बनेपछि खुल्यो विद्यालय 

बुधबार, मंसिर १५, २०७८

पर्वत, १५ मङ्सिर । गाउँघरका सामुदायिक विद्यालय विद्यार्थीको अभावमा धमाधम बन्द भइरहेका छन् । विद्यार्थीको अभावमा बन्द भएका विद्यालय नजिकको विद्यालयमा गाभिए पनि कतिपय विद्यालय भने अभिभावकको पहलमा विद्यार्थी जुटाएर फेरि सञ्चालनमा आउन थालेका छन् । 
फलेवास नगरपालिका–८ ठानामौलामा पाँच वर्षसम्म बन्द रहेको एक विद्यालय अहिले सञ्चालनमा आउन थालेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्सेवी शिक्षक बनेर पढाउन थालेपछि जनता आधारभूत विद्यालयले पुनर्जीवन पाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले आफू स्वयम्सेवी शिक्षक बनेर पढाउने प्रस्तावसहित विद्यालय खोल्न आग्रह गरेर अभिभावकको सहमति लिएपछि विद्यालय सञ्चालन भएको छ । बन्द रहेको विद्यालय यस वर्षको लकडाउनपछि गत भदौ ३० गतेदेखि सुरु भएको हो । विद्यालयमा अहिले २२ विद्यार्थी भर्ना भइसकेका छन् । 
लिमिठाना गाविसका पूर्वाध्यक्षसमेत रहेका तिमिल्सिना शिक्षण सेवाबाट अनिवार्य अवकाश भएपछि विद्यालय सञ्चालन गर्न जुट्नु भएको थियो । कक्षा १ देखि ५ सम्मका विद्यार्थी घण्टौँको यात्रा गर्दै अन्यत्रका विद्यालयमा गए पनि बाल कक्षाका विद्यार्थीलाई भने त्यो सम्भावना नहुने भएकाले बाल कक्षा भने सोही विद्यालयमा चल्दै आएको थियो । 
बाल विकास केन्द्रमा कार्यरत एक शिक्षक र एक कार्यालय सहयोगी मात्रै रहँदै आएको विद्यालयमा यतिखेर २ कक्षासम्मको पढाइ भइरहेको छ । अहिले क्रमिक रूपमा विद्यार्थी बढ्दै गएका र अब क्रमशः कक्षा ५ सम्मै पठनपाठन गराउने योजनामा आफूहरू रहेको तिमिल्सिना बताउँछन् । 
“पहिलो पटकको प्रयासमा कुरा मिलेन, म पनि त्यत्तिकै बसेँ, विद्यालय सुरु गर्नैपर्छ भन्ने मेरो मनमा खसखस त छँदै थियो, फेरि दोस्रोपटक भेला बोलाएपछि गाउँलेले ल तपाईं नै अध्यक्ष भएर काम गर्ने भए हामी तयार छौँ भने”, उनले भने, ं“राजनीतिक रूपमा कसैले पनि हस्तक्षेप गर्ने, निहुँ खाज्ने गर्ने काम गर्ने हो भने म तयार छैन, मैले भनेको मान्ने हो भने म विद्यालय चलाउँछु भनेपछि सबैको सहमति भयो, अहिले २२ विद्यार्थी भर्ना गरिसकेको छु ।”
विद्यालय सञ्चालनमा आएपछि अभिभावक पनि खुसी छन् । गाउँको विद्यालयलाई सबैको साझा तथा बराबर दायित्व भएको विद्यालयका रूपमा चलाउने भनेपछि घण्टौँको दूरीमा बालबालिकालाई विद्यालय पठाउँदै आएका अभिभावकको मनमा खुसी मिलेको अच्युतराज पन्तले बताए । 
नगरपालिकाको शिक्षा शाखाप्रमुख कृष्ण आचार्यले लामो समयसम्म बन्द रहेको विद्यालय सञ्चालनमा आउनु खुसीको कुरा भएको जनाउँदै अहिले सुरुमा एक शिक्षकको दरबन्दी व्यवस्थापन गर्ने काममा आफूहरू लागेको बताए । विद्यालयले क्रमिक रूपमा कक्षा थप गर्दै जाने र विद्यार्थी सङ्ख्यासमेत बढाउने भनेका कारण त्यो भएमा पुनः दरबन्दी पनि थप गर्न सकिने उनको भनाइ छ ।

विद्यार्थीविहीन विद्यालय खारेज 

विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ । शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका शाखा प्रमुखको मङ्गलबार सम्पन्न बैठकले विद्यार्थीविहीन विद्यालयको अनुमति खारेजीमा लैजान सबै स्थानीय तहहरूबाट तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । 
आर्थिक वर्ष २०७८÷७९ का लागि सरकारबाट प्राप्त सशर्त अनुदानअन्तर्गत तलब भत्ता र छात्रवृत्तिलगायतका विभिन्न शीर्षकहरू अध्ययन गरी उक्त शीर्षकमा विनियोजित रकम अपुग हुने भएमा पुष्ट्याइसहित शीर्षकगतरूपमा नपुग हुने रकमको विवरण मङ्सिर मसान्तसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गरी पठाउने निर्णय भएको छ । 
बैठकले विद्यालयहरूमा छात्रवृत्ति रकम वितरण गर्दा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई छात्रवृत्ति पाउने विद्यार्थीको नाम उल्लेख गरी अभिलेख राखी स्थानीय तहले तोकेको दिनमा सार्वजनिक कार्यक्रम गरी वितरण गर्ने व्यवस्थाका लागि विद्यालयलाई परिपत्र गर्ने निर्णय भएको छ । शिक्षकको पेशागत सहयोग र विद्यलय अनुगमनको लागि प्रत्येक स्थानीय तहमा पेशागत सहयोग समूह निर्माण गर्ने र स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइबाट समन्वयात्मकरूपमा कार्यक्रम तय गरी संयुक्तरूपमा शिक्षकको पेशागत सहयोग र विद्यालय अनुगमन सुपरीवेक्षण प्रभावकारी तरिकाले गर्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । 
बैठकमा स्थानीय तहमा परेका शैक्षिक समस्या र समस्या समाधानका उपाय, यस वर्षको जिल्ला र दिवाखाजा, छात्रवृत्ति, बालविकास केन्द्र व्यवस्थापन, विद्यालयमा पुस्तकालय, सूचना तथा प्रविधि ल्याव, विज्ञान प्रयोगशाला, प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, विद्यालय अनुगमन र शिक्षक पेशागत सहयोग, छात्राहरूलाई सेनेटरी प्याड वितरण, नमूना विद्यालयको निर्माणलगायतका विषयमा छलफल भएको थियो । 

चौरासी वर्ष पुगेका अवसरमा विद्यालयमा अक्षयकोष
बागलुङ नगरपालिका–१ निवासी ताराकुमारी शर्माले ८४ वर्ष पार गरेका अवसरमा उहाँका परिवारजनले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । सोही वडास्थित रामरेखा आधारभूत विद्यालयमा रु ५१ हजार ५५५ को शैक्षिक अक्षयकोष खडा गरेको शर्माका छोरा रामप्रसादले जानकारी दिए । 
मङ्गलबार सो रकम ताराकुमारीसहित परिवारजनको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । चौरासी पूजा हँुदा सङ्कलित दक्षिणामा परिवारकातर्फबाट रकम थपेर अक्षयकोष राखिएको हो । “आमाको सम्मानमा अक्षयकोष स्थापना गरिएको हो, यसबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्य छ,” छोरा रामप्रसादले भने । 
उनले आउँदा दिनमा अक्षयकोषको रकम बढाउँदै लाने योजना रहेको सुनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रबहादुर केसीले शिक्षा मन्त्रालयले तोकेको कार्यविधिअनुसार नै अक्षयकोष सञ्चालन गरिने बताए । उनले उक्त विद्यालयमा न्यून आय भएका परिवारका बालबालिका अध्ययनरत रहेकाले उनीहरूको शैक्षिक विकासमा अक्षयकोषबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
विद्यालयको सल्लाहकार समितिका संयोजक एवं समाजसेवी केवी रानामगरले शर्मा परिवारले आमाको सम्मानमा विद्यालयमा अक्षयकोष राखेर पुनित काम गरेको उल्लेख गरे । उनले सो विद्यालयमा मजदुर, विपन्न र अल्पसङ्ख्यक समुदायका बालबालिका पढ्ने भएकाले सबै पक्षको सहयोगको खाँचो रहेको बताए । 
विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधारमा स्थानीय समुदाय नै बढी सक्रिय हुुनुपर्ने रानामगरको भनाइ छ । विसं २०५५ मा स्थापना भएको सो विद्यालयमा शारीरिक अपाङ्गता भएका बालबालिका पनि अध्ययनरत छ । विद्यालयको भौतिक संरचना अपाङ्गतामैत्री छ ।–रासस
 

–रासस

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार