Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

पञ्चेश्वर गाउँपालिकामा कर्मचारीको चरम अभाव

सोमबार, कात्तिक ८, २०७८

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारीको चरम अभाव भएको छ । कर्मचारी अभावका कारण कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेकाछन् । 

कर्मचारी अभावका कारण आर्थिक कारोबार रोकिएकाले अहिले राहत नपाउँदा वर्षाका कारण विपद्को सामना गरिरहेका घरपरिवारलाई झनै समस्या भएको छ । केही राहत पाउने आस गरेका बाढी पहिरो पीडितहरू रित्तोहात फर्किएको पञ्चेश्वर-४ का अम्मरबहादुर चन्दले बताए । 

गाउँपालिकामा आएका सबैजसो सेवाग्राही कार्यालयमा पुगेर फर्किने गरेको स्थानीय अरुण चन्द बताउँछन् ।

गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताए । गाउँपालिकाको वडा नम्बर-१ बाहेकका सबै वडामा वडा सचिव नभएको उनले बताए । वडा सचिव नहुँदा अस्थायी प्राविधिकले ६ ओटै वडाको दोब्बर काम हेरिरहेको बागले बताए । 

गाउँपालिकाका सबै शाखामा कर्मचारी अभाव रहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । गाउँपालिका स्थापना देखिनै कर्मचारीको अभाव रहेको उनले बताए । गत आर्थिक वर्षमा तीन महिनाका लागि आएका लेखापालको काज फिर्ता भएपछि समस्या भएको छ । 

अहिले गाउँपालिकाका इन्जिनियरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । गत हप्ता भएको अविरल वर्षाका कारण बाढी पहिरोमा पञ्चेश्वरका ५० बढी परिवारको घर भत्किएको छ भने, ५ सय बढी किसानका खेतीयोग्य जमिन बाढीले बगाएको छ । उनीहरूलाई राहत दिने कार्यक्रम भए पनि कर्मचारी अभावका कारण दिन नसकिएको गाउँपालिका अध्यक्ष चन्दले बताए ।

'हाम्रो गाउँपालिकामा सुरुको वर्षदेखि नै कर्मचारी अभाव रहेको छ । पटक-पटक सरोकारवाला निकायलाई घचघच्याउँदा समस्या समाधान भएको छैन । अहिले बाढी पहिरोले पालिका भित्र ५० बढी घर भत्केकाछन् । सयौं किसानका खेतीयोग्य जमिन बगरमा परिणत भएकाछन् । उनीहरूमध्ये घरबार विहीन भएकाहरूलाई केही राहत दिन सकिन्थ्यो । तर, लेखापाल छैनन्,’ उनले भने । कर्मचारी पदपूर्तिका लागी आफूहरू निरन्तर प्रयासरत रहेको उनले बताए । पञ्चेश्वर गाउँपालिका भारतसँग सीमा जोडिएको जिल्लाको दुर्गम भएकाले कहिले पनि कर्मचारी नआउने गरेको अध्यक्ष चन्दले बताए । 

गाउँपालिकामा हुनुपर्ने ३१ जनाको दरबन्दीमा ११ जना मात्रै रहेकाछन् । अहिले प्रशासन छैटौंमा दुई जना छैनन् भने, प्रशासन पाचौंमा पाँच जना र सहायक चोथौंमा चार जना कर्मचारी छैनन् ।

यसैगरी लेखा अधिकृत छैटौं एक जना, लेखा सहायक एक जना, अलेप पाचौं एक जना, शिक्षा अधिकृत एक जना, सहायक मलेप निरीक्षक एक जना, सबइन्जिनियर पाचौं दुई जना, असिस्टेन्ट दुई जना नभएको गाउँपालिकाले जनाएको छ । यसैगरी गाउँपालिकाका ६ ओटै वडामा कर्मचारीको अभाव रहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  २१:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार