एक हप्तामा हजारौँ अफगानीलाई सहयोग

शुक्रबार, कात्तिक ५, २०७८

काबुल । अफगानिस्तानभर अक्टोबर ११ देखि १७ सम्म एक हप्ताभित्र हजारौँ अफगानीले मानवीय सहायता प्राप्त गरेका मानवीय सहायता मामिला हेर्ने संयुक्त राष्ट्रसङ्घीय निकायले शुक्रबार जानकारी गराएको छ । 
उत्तरपूर्वमा हालै आफ्नो गाउँमा फर्किएका दुई हजार ६२५ आन्तरिक रूपमा विस्थापित अफगानहरूले बदाखशान प्रान्तमा घरायसी सामान प्राप्त गरेका अफगानिस्तानको मानवीय सहायता मामिला हेर्ने संस्था (ओसीएचए) ले जनाएको छ । उत्तरपूर्वमा थप छ हजार १३ जनाले मानवीय सहयोग दिइएको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) मौसमी सहायता कार्यक्रमअन्तर्गत बडाखर्क, कुन्दुज र तखार गाउँपालिकामा गरी जम्मा १६ हजार ५५६ जनाले खाद्यान्न सहयोग प्राप्त गरेका ओसीएचएद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
उत्तरमा जावजन र सारी पुल प्रान्तमा डब्लूएफपी मौसमी जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत एक महिनाका लागि ४३ हजार असुरक्षित जनताले खाद्यान्न प्राप्त गरेका छन् भने विस्थापित तथा फिर्ता भएका व्यक्तिसहित तीन हजार ९७६ जनाले बाल्ख र फरियाब प्रान्तको राजधानीमा मानवीय सहायता प्राप्त गरेका छन् । स्रोतका अनुसार दक्षिणमा १९ हजार १७८ जनालाई घरायसी सामान, सरसफाइ किट र कान्दहार, हेलमण्ड, जबुल र उरुज्गानमा टेन्ट सहयोग गरिएको छ । साथै, हेलमन्ड, जाबुल र उरुज्गान प्रान्तमा एक हजार ९४२ परिवारलाई नगद सहयोग प्रदान गरिएको छ ।
पूर्वमा झन्डै ५६,००० मानिसहरूले मानवीय सहयोग पाए भने उक्त अवधिमा पश्चिमी क्षेत्रमा अन्य दुई हजार जनालाई सहयोग गरियो । केन्द्रीय क्षेत्रमा अगस्टमा द्वन्द्वका कारण विस्थापित भएका ३०८ जनाले काबुल, खोस्ट र परवान प्रान्तमा मानवीय सहायता प्राप्त गरेका थिए । काबुलमा उपस्थित ११ हजार ९३५ आन्तरिक विस्थापितले आफ्नो उद्गमस्थलमा फर्कन नगद तथा यातायात सहयोग प्राप्त गरेको विज्ञप्तिमा जनाइएको छ । 
अगस्टको मध्यतिर अफगानिस्तान तालिबानको कब्जामा आएपछि सुरक्षा स्थिति सामान्यतया देशभरि शान्त रहेको तालिबान सरकारका प्रवत्ताले दाबी गरेका छन् । दशकौँको द्वन्द्व र विस्थापन, दीर्घकालीन गरिबी, कोभिड–१९ महामारी, गम्भीर खडेरी, असफल स्वास्थ्य प्रणाली र पतनको सङ्घारमै रहेको अर्थतन्त्रले लाखौँ अफगानीहरूलाई गम्भीर असर पारेको ओसीएचएले जनाएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  २१:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार