नेपालमा थपिए ७८५ सङ्क्रमित

सोमबार, असोज २५, २०७८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८५ सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार १९५  जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।
थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १४ हजार ७८७ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । सङ्क्रमण दर १८.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार ८३१ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।८ प्रतिशत रहेको छ । सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २४३ जनाको निधन भइसकेको छ । 
आज एक लाख २७ हजार ५३२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८३ लाख १७ हजार ९०२ पहिलो मात्रा र ६४ लाख ६२ हजार ७७६ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।  आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा सङ्क्रमण देखिएको थियो ।  उनका अनुसार हिजोको सङ्क्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो ।  पछिल्लो एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको छ । मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिया सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको हो । 
कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण सङ्क्रमण घट्दै गएको देखिएको छ ।
उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्या १५ हजार ९४२ पुगेको छ । सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ ।  यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार