सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सर्वोच्च अदालत नियमावली, २०७४ ले संवैधानिक विवाद संवैधानिक इजलासमा हेर्ने व्यवस्था गरेको र हालको इजलास सक्षम भएको बताएका छन् । ‘११ जनाको इजलासमा जाने कानूनी व्यवस्था छैन । संविधानले संवैधानिक इजलासकै परिकल्पना गरेको छ । पहिला ११ जना न्यायाधीशकै इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा हेरिएको थियोे । अहिले भने नयाँ संविधान आएको छ”, अदालतका सहयोगी मैनालीले भने । एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संविधानले दिएको व्यवस्थालाई ‘अनदेखा’ गर्न नमिल्ने बताउँदै भने, ‘संवैधानिक विषय संवैधानिक इजलासले हेर्नुपर्छ भन्ने लाग्छ भने यहींँ हेर्नुपर्छ ।’ ‘गम्भीर प्रकृतिको संवैधानिक व्याख्या छैन भने अन्य इजलासमा पनि पठाउने अधिकार न्यायाधीशलाई छ । प्रधानन्यायाधीशले गम्भीर संवैधानिक विषय भनेर संवैधानिक इजलासमा पठाएको अवस्था छ’, सर्वाेच्च बारका तर्फबाट पठाइनुभएका बारमा निर्वाचित अध्यक्ष शाक्यले भने । ‘अदालतकै निष्पक्ष मित्र’ वरिष्ठ अधिवक्ता गीता पाठकले गम्भीर संवैधानिक विषयको विवाद समाधान गर्ने संवैधानिक इजलास नै भएको जनाउँदै मुद्दालाई अन्य इजलासमा लानुभन्दा अरू न्यायाधीश थप गर्न सकिने तर्क राख्नुभयो । विघटन सम्बन्धमा अदालतको क्षेत्राधिकारका विषयमा आजै आदेश आउने जनाइएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश .सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हेर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संंवैधानिक इजलासले सो आदेश दिएको हो ।“ प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३)बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन, कानूनबमोजिम गर्नू”, आदेशमा भनिएको छ । गत पुस १७ गतेदेखि सुनुवाइ शुरु भको सो मुद्दामा वादी र सरकारका प्रतिनिधिबीच सो मुद्दा संवैधानिक इजलास वा बृहत पूर्ण इजलास कहाँ सुनुवाइ गर्ने भन्ने विवाद आजसम्म चलिआएको थियो । ‘हेर्दाहेर्दैमा’ राखिएको सो मुद्दाको आगामी सुनुवाइ यही माघ ४ गतेका लागि तोकिएको छ । आज भएको बहसका क्रममा निवेदकका तर्फबाट बहस गरिरहनुभएका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रतिनिधिसभा विघटन सिफारिश गर्दा गत पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको कुनै पनि धारा उल्लेख नगरेको तर राष्ट्रपतिले अनुमोदन गर्दा धारा उल्लेख गरेको जिकिर गर्दै मन्त्रिपरिषद्को सिफारिश दस्तावेजको सक्कलै प्रति सिल गर्नुपर्ने माग गर्नुभएको थियो ।