ओलीलाई प्रचण्डको प्रश्न, पार्टीले कहाँ काम गर्न दिएन ?

बिहीबार, माघ १, २०७७

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीले काम गर्न नदिएको प्रमाण दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । पार्टीले सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गरेको भन्ने प्रधानमन्त्रीको दाबीलाई खण्डन गर्दै दाहालले काम गर्न नदिएको प्रमाण दिन चुनौती दिएका हुन् । काठमाडौंमा बुधबार आयोजित कार्यकर्ता भेलामा अध्यक्ष दाहालले भने, ‘पार्टीले मलाई काम गर्न नदिएको हुँदा संसद् विघटन गरेँ भन्ने दाबी गर्दै आउनु भएको छ । पार्टीले कहाँ घेराबन्दी ग¥यो ? पार्टीले कुन काममा बाधा हाल्यो । एउटा प्रमाण दिनुस्, चुनौती दिन चाहन्छु केपी ओलीलाई ।’
दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान धरापमा भएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताए । ‘हामी यहाँ प्रहसन देखाउन जुटेका छैनौं । हामी उखान टुक्का गरेर हसाउँ कमेडी सो गर्न उपस्थित भएका छैनौं । मानिसहरुलाई दिग्भ्रमित गर्न र उद्धेलित, उत्तेजित पार्न उपस्थित भएका छैनौं । राष्ट्र र जनताको अगाडि देखापरेको संकटलाई समाधान गर्न उपस्थित भएका छौं,’ दाहालले भने ।
निर्वाचन आयोग र सर्वोच्च अदालतसँग आफूहरु भरोसा कायम रहेको पनि दाहालले बताए । उनले केपी ओलीले संविधान मिचेजस्तै अन्य संवैधानिक निकायले पनि त्यही गर्न थाले जनताले हेरेर नबस्ने बताए । ‘निर्वाचन आयोगको तर्फबाट विधिसम्मत हुन्छ, ढुक्क हुनुस् भन्नु भएको छ । पार्टीको नाम र सूर्य चिह्न हाम्रै हुन्छ । यदि त्यस्तो भएन भने यहाँ आँधीहुरी आउँछ’, दाहालले दाबी गरे, ‘केपी ओलीले संविधान मिचेजस्तै अरु संवैधानिक निकायले पनि त्यही गर्न थाले भने जनता हेरेर बस्न सक्छन् ? हेरेर बस्न सक्दैनन् । आँधीहुरी, बतास आउँछ । मैले निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति अझै पनि भरोसा छ ।’ दाहालले केपी ओलीको नौटंकी र जोकरपनको पछाडी कोही नलाग्ने पनि दाबी गरे । ओलीले आफूहरुलाई भगौडा भनेको भन्दै दाहालले पार्टी बैठक, विधि विधान मिचेर हिँड्ने ओली नै भगौडा भएको जिकिर गरे । ओलीले आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै धनगढीमा दाहाल र नेपाल समूहलाई भगौडाको संज्ञा दिएका थिए ।
‘बडो अनौठो लाग्छ कहिलेकाहीं । उहाँले एक ठाउँ बोल्दा हामीलाई भगौडा भन्नु भएछ । सुन्न पनि कान के थुन्नु पर्ने, आँखा देखिन्छ के आँखा छोप्नु, लाजैमर्दो । ७२ प्रतिशत केन्द्रीय समितिको सदस्य भगौडा रे ! ३० प्रतिशत पनि भएको रैथाने । यस्तो पनि हुन्छ ?’ दाहालले प्रश्न गरे, ‘केपी ओलीको दिमागमा बाहेक यस्तो अन्त हुन्न । जहिले पनि बैठकबाट भाग्ने उहाँ । पछिल्लो बैठक हामी जो बस्यौं त्यो केपी ओली समेतको सहमतिसहितको बैठक हो । त्यो बैठक छाडेर, विधान मिचेर, तानाशाही रुपमा पार्टीलाई लात हानेर हिँड्ने भगौडा नहुने, लाजघिन भन्ने मानिसमा हुनुपर्छ ’ दाहालले भने । 
उनले कोरोना महामारीका समयमा सरकारको कामलाई झन् प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र बनाउन प्रधानमन्त्रीले अस्वीकार गरेको जिकिर पनि गरे ।  प्रधानमन्त्रीले पार्टीलाई विश्वासमा लिन नसकेको र जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन गरेर सरकारले जनमतको अपमान गरेको आरोप पनि उनको तर्क थियो ।  अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री विगतदेखि नै पार्टी विधि र पद्धति नमानेर अगाडि बढिरहेको तथा पार्टीभित्र देखिएको समस्या समाधान गर्न बैठकमा बस्न नमानेको आरोप लगाए । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबाट संविधानमाथि प्रहार भएको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले अहिले संविधानको मर्म र मूल्यमान्यताको रक्षाको प्रश्न उब्जिएको बताए । उनले नेता–कार्यकर्तालाई लोकतन्त्रका पक्षमा उभिन पनि आग्रहसमेत गरे । पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जनताको आन्दोलनले नै प्रतिनिधिसभा पुनःस्थापना गराएरै छाड्ने जिकिर गरिन् । 

काठमाडौं जिल्ला सङ्घर्ष समिति घोषणा
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन परिचालन गर्न एक हजार ५७६ सदस्यीय काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा गरिएको छ । काठमाडौँ जिल्लाका केन्द्रीय कमिटी सदस्य, प्रदेश सदस्य, नगर, वडा, जनवर्गीय सङ्गठनलगायतको सहभागितामा सङ्घर्ष समिति घोषणा गरिएको हो ।
सङ्घर्ष समितिका संयोजकमा केन्द्रीय सदस्य सावित्रा भुसाललाई तोकिएको छ । सङ्घर्ष समितिका अगुवाइमा आगामी माघ २३ गते काठमाडौँमा जनप्रदर्शन गर्ने कार्यक्रम बनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार