सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो । गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्रयाट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो । तल्लो सदनमा डेमोक्रेटिक पार्टीका २२२ जना सदस्य छन् । ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन् । विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए । तल्लो सदनले सन् २०२० मा पनि उनीविरुद्ध महाभियोग पारित गरेको थियो । त्यतिबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन् । सिनेटले उनलाई आरोपमुक्त गरिदिएको थियो ।
अब माथिल्लो सदनमा सुनुवाइ अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ । त्यसको निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ । त्यो सङ्ख्या पु¥याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक हुने बताइएको छ । कम्तीमा १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा उभिनु पर्नेछ । न्यूयोर्क टाइम्सले २० जना रिपब्लिकन सिनेटहरू ट्रम्पलाई दोषी ठह¥याउने पक्षमा रहेको उल्लेख गरेको छ ।
ट्रम्प फेरि उम्मेद्वार हुन पाउँछन् ? हो, पाउँछन् । किन कि महाभियोगले मात्र उनलाई राष्ट्रपतिको उम्मेद्वार बन्न रोक्दैन । सिनेटमा हुने सुनुवाइले उनीमाथि लगाइएको आरोप पुष्टि गर्नै बाँकी छ । दुई तिहाइ बहुमत आवश्यक हुने भएकाले डेमोक्रयाटहरूकै बलमा मात्र सिनेटमा आरोप पुष्टि हुन सम्भव हुनेछैन । तर रिपब्लिकनहरूको साथ पाएर त्यो पारित भयो भने पनि उम्मेद्वार बन्न नदिन अर्को मतदान गराउनु पर्ने हुन्छ । ट्रम्पले सन् २०२४ मा उम्मेद्वार हुने सङ्केत दिएकाले त्यसबारे चासो पाइन्छ । कतिपय रिपब्लिकनहरूले महाभियोग नलगाएर राष्ट्रपति बन्न रोक्ने उपाय अपनाउनु पर्ने धारणा पनि राखेका थिए । यसअघि तल्लो सदनले संविधानको एउटा प्रावधानअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति माइक पेन्सलाई सहयोगको आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो । पेन्सले त्यो प्रस्ताव अस्वीकार गरेपछि डेमोक्रयाटहरू महाभियोगको प्रक्रियामा अघि बढेका हुन् ।–एजेन्सी