सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दुई अध्यक्षबीचको टकरावका कारण एकता प्रक्रिया नै संकटमा परेको सत्तारुढ नेकपाका सचिवालय बैठक बिहीबारका लागि बोलाइने भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् । मंगलबार दिउँसो ओलीलाई भेटेर दाहालले बिहीबार बैठक बोलाउने विषयमा सहमतिका आग्रह गरेका थिए । तर, बैठकका लागि ओली सहमत भइनसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीलाई भेटेपछि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यको बैठकमा ओलीसँगको भेटबारे दाहालले ब्रिफिङ गरेका थिए । ‘गत शनिबार प्रधानमन्त्री एवं अध्यक्षलाई लिखित पत्रसहित भेटेर सचिवालयको बैठक बस्ने कुरामा सहमति जनाउन र तुरुन्त बैठक बस्न अनुरोध गरेका थियौं । योबीचमा बैठक बस्ला भन्ने अपेक्षा थियो । बैठक बसेन । बैठक बस्ने कुरामा उहाँ (ओली) ले सहमति दिनु भएन’, प्रवक्ता श्रेष्ठले भने, ‘आज अध्यक्ष प्रचण्डले उहाँलाई भेटेर पर्सि २७ गते बैठक बस्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ । तर उहाँ (ओली) पर्सिको बैठक बस्ने कुरामा पनि सहमति जनाइसक्नु भएको छैन । उहाँले बैठकमा सहमति जनाउनु हुनेछ । सहमतिमै बैठक बस्ने आशा गरौं ।’ पार्टी मुख्यालय धुम्वाराहीमा सचिवालयका ५ जना नेता छलफलमा बस्नु अघि दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । बुधबार ओली किमाथाङका जाने कार्यक्रम रहेकोले दाहालले पर्सीलाई सचिवालय बोलाउन प्रस्ताव गरेका हुन् । ओलीले बैठक बोलाउन नमानेको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘आशा छ त्यस्तो परिस्थिति आउने छैन र हामीले त्यसरी सोचेका पनि छैनौं ।’ सचिवालयका नेताहरुले पार्टी सचिवालयको बैठक बोलाउन माग गर्दै ओलीलाई एजेण्डासहित लिखित पत्रसमेत दिएका थिए । नेकपा शीर्ष पाँच नेताको धुम्बाराही छलफल सकियो नेकपा सचिवालयका शीर्ष पाँच नेताले मंगलबार पनि पार्टीमा देखिएको संकट समाधानका विषयमा धुम्बाराहीमा छलफल गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा डेढ घण्टासम्म चलेको बैठक साँझ सकिएको हो । बैठकमा सहभागी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक चाँडोभन्दा चाँडो बोलाउन गरिएको आग्रहका विषयमा बैठकमा छलफल भएको छ । छलफल अघि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुम्बाराही पुगेका थिए । छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए । पाँच नेताको बैठकमा अध्यक्ष प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको कुराकानीको ब्रिफिङ गरेका थिए । ओलीले प्रचण्डसँगको छलफलमा बिहीबारसम्ममा सचिवालय बैठक बोलाउने आश्वासन दिएका छन् । बुधबार उपत्यका बाहिर जाने कार्यक्रम रहेको र बिहीबार सचिवालय बैठक बोलाउने सम्भावनाका विषयमा ओली र प्रचण्डबीच छलफल भएको थियो । यद्यपि ओलीले बैठकका विषयमा अझैसम्म सहमति दिएका छैनन् । नेकपा सचिवालयका पाँच सदस्यलले यसअघि कात्तिक २२ गते अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई भेटेर लिखित रुपमा सचिवालय बैठक तत्काल बस्ने कुरामा सहमति जुटाउन र बैठक बस्न अनुरोध गरिसकेका छन् । नेताहरुले बैठकका एजेन्डाहित दुई पन्ने पत्र ओलीलाई बालुवाटार पुगेका बुझाएका थिए । पाँच नेताको मंगलबारको बैठकमासमेत छिटोभन्दा छिटो बैठक बस्नुबाहेक विकल्प नभएको विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । ‘कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली उपत्यका बाहिर जाने भन्ने योजनामा भएको स्थितिमा पनि २७ गते सचिवालय बैठक बस्नुपर्छ भनेर प्रधानमन्त्रीसँग अनुरोध गर्नु भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष ओलीले २७ गते बैठक बस्ने कुरामा पनि सहमति जनाउनु भएको छैन ।’ पार्टीको निर्णय र सहमतिको उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमालगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड–नेपाल पक्ष यतिबेला ओलीसँग रुष्ट छ ।