सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । अमेरिकामा डेमोक्रयाटहरूले बुधबार अमेरिकी क्यापिटल भवनमा भएको घटनामा राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिकाका कारण महाभियोग लगाउने योजना बनाएका छन् । सभामुख न्यान्सी पेलोसीले यदि ट्रम्पले तत्काल पदबाट राजीनामा नदिए महाभियोगको प्रक्रिया अगाडि बढाउने बताइन् । डेमोक्रयाटहरूले संसद्मा सोमबार ‘राज्यद्रोह प्रोत्साहन’ अभियोग पेश गर्दैछन् । पाँच जनाको ज्यान जाने गरी संसद्मा भएको दङ्गालाई प्रोत्साहन गरेको आरोप उनीहरूले ट्रम्पमाथि लगाएका छन् । राष्ट्रपति निर्वाचित जो बाइडनले महाभियोगबारे संसद्ले निर्णय गर्ने बताएका छन् । बाइडनले ‘लामो समयदेखि आफूलाई ट्रम्प राष्ट्रपति पदका लागि योग्य नभएको’ लागेको बताएका छन् ।
ह्वाइट हाउसले भने महाभियोगको विषयलाई ‘राजनीतिक स्वार्थ’ को कदम भन्दै त्यसले ‘महान देशलाई थप विभाजित गर्ने’ बताएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका करिब १६० सदस्यहरूले उक्त विधेयकमा हस्ताक्षर गरेका छन् । बुधवार क्यापिटलमा भाँडभैलो भइरहँदा उक्त विधेयक क्यालिफोर्निया राज्यका सांसद् टेड लिउ र रोड आइल्यान्डका डेभिड सिसिलीनले मस्यौदा गरेका थिए । यदि महाभियोग प्रक्रिया अगाडि बढ्यो भने त्यो राष्ट्रपति ट्रम्पविरुद्धको दोस्रो महाभियोग प्रयत्न हुनेछ । डिसेम्बर २०१९ मा तल्लो सदनले ट्रम्पलाई अन्य अभियोगहरूमा महाभियोग लगाउने प्रस्ताव पारित गरेको थियो तर सिनेटले फेब्रुवरी २०२० मा उनलाई सफाइ दिएको थियो । कुनै पनि अमेरिकी राष्ट्रपतिलाई अहिलेसम्म दुईपटक महाभियोग लागेको छैन । रिपब्लिकनहरूको सिनेटमा बहुमत भएका कारण महाभियोग पारित नहुन सक्छ । एकजना मध्यमार्गी रिपब्लिकन सिनेटर लिसा मुर्कोस्किले आलस्काको एउटा अखबाररलाई ट्रम्प ‘अब बाहरिनुपर्ने’ बताएकी थिइन् । नेब्रास्काका अर्का सिनेटर बेन सासेले महाभियोग ‘निश्तित रूपमा मनन गर्ने’ बताएका छन् । तर ट्रम्पको पार्टीका अरू सदस्यले पनि महाभियोगको समर्थन गर्छन् भन्ने सङ्केत मिलेको छैन । ट्रम्प राष्ट्रपति पदबाट बाहिरिन धेरै समय छैन । संवैधानिक ज्ञाताहरू राष्ट्रपति पदबाट बाहिरिएपछि पनि महाभियोग प्रक्रिया जारी रहनसक्ने भन्नेबारे विभाजित छन् । यदि ट्रम्पमाथि महाभियोग लाग्यो भने उनी भविष्यमा कुनै पनि सार्वजनिक पदमा बस्न अयोग्य ठहरिने छन् ।
मस्यौदा महाभियोग पत्रमा के छ ? मस्यौदा महाभियोग पत्रको एक बुँदामा ‘राज्यद्रोह उक्साएको’ उल्लेख छ । मस्यौदामा लेखिएको छ, ‘डोनल्ड जोन ट्रम्पले संयुक्त राज्य अमेरिकाको सरकारविरुद्ध जानीजानी गरिएको हिंसा र अपराधमा सहभागी भएका छन् । त्यसैले उनी राष्ट्रपति रहिरहन सक्ने भन्ने विश्वासमाथि घात गरेका छन् ।’ राष्ट्रपतिले उनका समर्थकहरूलाई बाइडनको इलेक्टोरल कलेज जितको प्रमाणिकरण हुने दिन संसद भवन क्यापिटलतर्फ जुलुश गर्न आग्रह गरेका थिए । महाभियोग भनेको के हो ? राष्ट्रपतिमाथि कंग्रेसले अभियोग लगाउनु नै महाभियोग हो । तल्लो सदनबाट महाभियोग पारित भयो भने त्यो उपल्लो सदन सिनेट पुग्छ जसले महाभियोग लगाउने कि नलगाउने भन्ने निर्णय गर्छ । यो दुर्लभ घटना हो र अपराधिक भन्दा पनि राजनीतिक प्रक्रिया हो । ट्रम्प महाभियोग लगाइएका तेस्रो राष्ट्रपति हुन् ।–बीबीसी