प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध

विघटन लोकतान्त्रिक मूल्य प्रतिकूल 
आइतबार, पुस २६, २०७७

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिबार विरोध प्रदर्शन एवं सभा आयोजना ग¥यो । पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारीलगायत नेताहरुले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा सम्बोधन गरी प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल भएको धारणा व्यक्त गरे । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आगामी माघ ३ गते ७५३ पालिका  र  माघ ८ गते ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्दैछ । ती कार्यक्रमबाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रम आयोजना गर्न सक्नेछन् । 
कांग्रेसले यसअघि पुस ५ गते प्रतिनिधिसभा विघटन भएकै दिन पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक गरेको थियो । पुस ६ गते सर्वदलीय बैठक आयोजना गरेको तथा पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । 

देउवाद्वारा प्रदर्शनमा सहभागीलाई धन्यवाद  
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध शनिबार ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् । सभापति देउवाले  विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र लागेका पार्टीका प्रदेशसभा र  क्षेत्रीय कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यसँगै शुभचिन्तकमा बधाई ज्ञापन गरेका हुन् । उनले प्रदर्शनका लागि सामाजिक सञ्जालमार्फत सक्रिय भूमिका निर्वाह गर्ने युवा पङ्क्ति र निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पु¥याउने सञ्चारकर्मीप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् । 

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ०४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार