नेकपालाई फुटबाट जोगाउन वामदेवको एकता राष्ट्रिय अभियान

गुट–उपगुटमा नलागि अभियानमा सङ्गठित हुन नेता–कार्यकर्तालाई अपिल
शनिबार, पुस २५, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कुनै पनि पक्षमा नलागी नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन नेकपाका सबै नेता कार्यकर्तामा अपिल गरेका छन् । नेकपा एकता राष्ट्रिय अभियानको संयोजकका रूपमा शनिबार अपिल जारी गर्दै उनले नेकपाका सम्पूर्ण नेता कार्यकर्तालाई आफू आबद्ध रहेकै ठाउँबाट नेकपाको एकता अभियानका नाममा सङ्गठन खडा गर्न आग्रह गरेका हुन् । 
पार्टी विभाजनमा ढल्केका नेता कार्यकर्तालाई सम्झाउन आग्रह गर्दै उनले कुनै पनि समूहका नेता कार्यकर्तालाई गालीगलौजको शैलीमा विरोध नगर्न पनि अनुरोध गरेका छन् । उनले सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउन र एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्न पनि आह्वान गरेका छन् । ‘यसो गर्नुभयो भने पार्टी र पार्टीका सबै नेतालाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनःएकीकरण गर्न सकिनेछ’, गौतमले अपिलमा भनेका छन् । 
एकअर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लङ्घन गर्दै आफ्ना ऐतिहासिक योगदानलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीलाई हसाउने कार्य तुरुन्त बन्द गर्न आग्रह गर्दै उपाध्यक्ष गौतमले पार्टीभित्रको अन्तरविरोधलाई अन्त्य गरेर पुनर्मिलन गर्न आह्वान पनि गरेका छन् । ‘हजारौँ शहीदको बलिदानबाट विकसित भएको पार्टीलाई मिलेर पुनर्गठन गरौँ, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थितरूपमा सञ्चालन गरौँ र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधलाई पार्टी पद्धतिअनुरुप सम्मानजनक ढङ्गबाट हल गरौँ’, उनले अपिलमा भनेका छन् । 
पार्टी एकता जोगाउन वा पुनःएकीकरण गर्ने उद्देश्य लिएर आफू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर सबैका सामु खडा भएको गौतमले उल्लेख गरेका छन् । उनले पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेता पुनःएकीकरणको अवस्थामा सामेल नभए लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी नदिने पनि बताएका छन् । 
सरकार सञ्चालनको एउटा कार्यकाल र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेकपा विभाजनबाट क्षत्विक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद् र पीडादायी भएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधको समाधान गर्न नसक्नाका कारण विभाजनउन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरूको अयोग्यताको द्योतक हो भनेका छन् ।
 

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार