साझा प्रकाशनका अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित

शुक्रबार, पुस २४, २०७७


काठमाडौं । साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा.विजय सुब्बा निर्वाचित भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद डा सुब्बा ४१२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी डा.जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गरे । 
यही पुस २१ देखि २४ गते हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो । डा सुब्बा र डा कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन् । भाषा–साहित्यका क्षेत्रमा ऐतिहासिक  सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन भएकोे हो । विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्त गरिन्थ्यो । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।
निर्वाचित भएपछि अध्यक्ष डा.सुब्बाले हरेक हिसाबले ध्वस्त प्रकाशनलाई ब्युँताएर अगाडि बढाउने चुनौतीपूर्ण काममा आफू इमानदार भएर लाग्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण अग्रज स्रष्टा र मतदाताबाट प्राप्त सद्भावप्रति श्रद्धाभाव व्यक्त गरे । 
कूल एक हजार ४५७ मतदाता (अंशियार) रहेको सो प्रकाशनको निर्वाचनमा ६४३ मत खसेको र ४८ बदर भएको थियो । प्रकाशनका सञ्चालक सदस्यमा यसअघि हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिका संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सहमति भएको थियो । निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेका संयोजकत्वमा समिति गठन भएको थियो । साधारणसभाको गणपूरक संख्याका लागि भने अलग्गै उपस्थिति पुस्तिकामा उपस्थिति गराइएको जनाइएको छ । शनिबार  भर्चुअलरुपमा हुने साधारणसभामा २३औँ साधारणसभापछिका विभिन्न आर्थिक वर्षका प्रगति प्रतिवेदन प्रस्तुत र छलफल हुनेछ ।    संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एकएक  सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार