संसद् भवनमा ट्रम्प समर्थकद्वारा आक्रमण,  चार जनाको मृत्युपछि सुरक्षा व्यवस्था कडा

ट्रम्पमाथि ‘सत्ताविद्रोह’ को आरोप
बिहीबार, पुस २३, २०७७

वासिङ्टन । अमेरिकी संसद् भवनमा भएको ट्रम्प समर्थकहरूको जबरजस्ती प्रवेश र तोडफोडको घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सांसदहरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडनले हासिल गरेका विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रक्रियामा सहभागी भए । 
निर्वाचनमा ठूलो धाँधली भएको भन्दै आक्रोशित राष्ट्रपति ट्रम्पका समर्थहरूको उग्र र हिंसात्मक भिडले संसद् भवनमा जबर्जस्ती प्रवेश गरेपछि संसदीय प्रक्रिया अवरुद्ध भएको थियो । प्रहरीको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको थियो भने अन्य तीन जनाको ‘मेडिकल आपत्कालीन अवस्था’ कारण मृत्यु भएको प्रहरीले जनाएको छ । वाशिङ्टन डीसीमा कर्फ्यू आदेश जारी गरिएको छ । सडकहरूमा दङ्गा नियन्त्रण गर्ने प्रहरीहरूले सुरक्षा दिइरहेका छन् । हालसम्म कम्तीमा पनि ५२ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको र तीमध्ये ४७ जना कर्फ्यू उल्लंघन गर्नेहरू रहेको बताइएको छ । राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकहरूको ठूलो समूह क्यापिटल भनिने अमेरिकी सङ्घीय संसद् भवनमा जबरजस्ती प्रवेश गरेर तोडफोड गरेपछि सुरक्षाका कारण संसद् भवन बन्द गर्नुपरेको थियो ।
संसदीय प्रक्रिया पुनः आरम्भ भएपछि केही राज्यका रिपब्लिकन सांसदले आफ्नो ठाउँका निर्वाचन मतपरिणाम उल्टाउने प्रयास गरेका थिए तर त्यो पर्याप्त समर्थनको अभावमा असफल भएको छ । राष्ट्रपति ट्रम्पले आफ्ना उग्रसमर्थकहरूलाई घर फर्कन आह्वान गरेका छन् । तर उनले ‘अमेरिकी निर्वाचन उनीहरूबाट खोसिएको’ भन्ने उनको अप्रमाणित दाबी दोहो¥याएका थिए ।
अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसद्को संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकले संसद् भवनमा हमला आक्रमण भएको हो ।  ट्रम्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । 
राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गरे । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदले दिनभरको रस्साकस्सीपछि साँझ पुनःप्रमाणीकरणको कार्यलाई अघि बढाएका छन् । 
राष्ट्रपति ट्रम्पका समर्थकको आक्रमणपछि ट्रम्पको पक्षमा रहेका कैयौं सांसदले ट्रम्पको साथ छाडेको घोषणा गरेका छन् । 
वासिङ्टन डिसीमा ट्रम्पले आफ्ना समर्थकको एक ¥यालीलाई सम्बोधन गरेलगत्तै उत्तेजक भीडले संसद् भवनमा आक्रमण गरेको थियो । उनीहरुले क्यापिटोल बाहिर सुरक्षार्थ रहेका प्रहरीका ‘ब्यारिकेड’लाई छिचोल्दै भित्र प्रवेश गरेका थिए । 
उत्तेजक भिडका कैयौं सदस्य संसद् भवनभित्र प्रवेश गरेर तोडफोड गर्नुका साथै संसदीय प्रक्रियालाई अबरुद्ध बनाएका थिए । साथै प्रदर्शनकारीमध्ये केहीले सभामुख नान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर उहाँको कुर्सीमा बसेर तस्वीरसमेत खिचाएका थिए । 
संसद् भवन क्यापिटोलभित्रका आक्रमणकारीलाई बाहिर निकाल्न प्रहरीलाई चार घण्टा लागेको थियो । प्रहरीले दक्षिण क्यालिफोर्निया निवासी एक ट्रम्प समर्थकको गोली लागेर मृत्यु भएको थियो । तर पछिल्लो समय प्रहरीले उक्त घटनामा चार जनाको मृत्यु भएको जनाएको छ । 
बाइडेनले उक्त हिंसालाई ‘राज्य विद्रोह’ संज्ञा दिएका छन् । उनले राष्ट्रपति ट्रम्पलाई तत्कालै हिंसामा संलग्नलाई शान्ति कायम गर्नका लागि आह्वान गर्न आग्रह गरेका थिए । ‘हाम्रो प्रजातन्त्र अभूतपूर्व आक्रमणको निशानामा परेको छ’, बाइडेनले आफ्नो गृहराज्य डेलावेयरबाट भने, ‘यो मतभेद होइन । यो अव्यवस्था हो । यो अराजकता हो । यो राज्य विद्रोह सरह हो । यसको तत्कालै, अहिल्यै अन्त हुनु पर्दछ ।’
राष्ट्रपति ट्रम्पले तत्कालै एक भिडियो सार्वजनिक गर्दै आफ्ना समर्थकलाई घर फर्कन अनुरोध गर्नुका उनले उक्त भिडियोमा चुनावमा धाँधली भएको पुनःदोहो¥याएका छन् । ‘हामी पनि शान्ति चाहन्छौँ । त्यसैले घर जानुहोस् । म तपाईंलाई माया गर्दछु । तपाइँहरु साँच्चिकै विशिष्ट हुनुहुन्छ’, ट्रम्पले भनेका छन् । फ्लोरिडाबाट आएकी ट्रम्प समर्थक ४३ वर्षीया सोन्या फिट्जेराल्डले संसद् भवन क्यापिटोलको सिँढीमा उभिएर भनिन्, ‘तपाईंहरुले यस घटनालाई इतिहासको पानामा पढ्नु हुनेछ ।’
यसैबीच, सामाजिक सञ्जाल कम्पनी ट्वीटर र फेसबुकले राष्ट्रपति ट्रम्पका अकाउन्टलाई अस्थायीरुपमा रोक लगाएका छन् । उनीहरुले ट्रम्पका ट्वीटहरुले देशव्यापी हिंसा भड्काएको भन्दै अकाउन्ट बन्द गरेको जनाएका छन् । यदि ट्रम्पले गलत रबैया जारी राखे ट्वीट र फेसबुक दुबैले स्थायीरुपमा अकाउन्ट बन्द गरिदिने घोषणा गरेका छन् । डेमोक्रेटिक पार्टीले जर्जियाको दुबै सिनेट सदस्यमा विजयी हासिल गरेको समाचार सार्वजनिक भएलगत्तै संसद्मा आक्रमण भएको छ । जर्जियामा डेमोक्रेट पार्टीको विजयले अमेरिकी माथिल्लो सदनमा अब डेमोक्रेटको बहुमत कायम भएको छ भने तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि डेमोक्रेटको बहुमत छ । दुबै सदनमा डेमोक्रेटको बहुमत कायम भएकाले अब राष्ट्रपति निर्वाचित जो बाइडेनले आफूले चाहेका विधेयक सहजै पारित गराउन सक्नु हुनेछ । इतिहासकारको भनाइमा अमेरिकी संसद् भवन क्यापिटोलमा यो दोस्रो पटक हमला भएको हो । यसअघि सन् १८१२ को युद्धमा बेलायती सेनाले क्यापिटोलमा आक्रमण गरी आगो लगाइदिएका थिए । 


दुई सय वर्षभन्दा बढी समयदेखि अमेरिकी संसद् अर्थात् कंग्रेसको संयुक्त सदनले नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई सहज र शान्तिपूर्वक प्रमाणीकरण गर्ने प्रचलन थियो । अमेरिकी संविधान र कानुन बमोजिम अमेरिकी दुबै सदनले अमेरिकी मतदातालाई जिताएर पठाएका इलेक्टोरल मतलाई गणना गरी त्यसलाई प्रमाणित गर्ने र संयुक्त सदनले राष्ट्रपति निर्वाचित भएको अन्तिम घोषणा गर्दछ । 
संसद्को संयुक्त सदनले घोषणा गरेका राष्ट्रपतिले जनवरी २० मा विशेष सार्वजनिक कार्यक्रमबीच सपथ लिने कार्यक्रम राखिने गरिन्छ । तर यसपटक राष्ट्रपति ट्रम्पले आफ्ना समर्थक रिपब्लीकन सांसदलाई इलेक्टोरल मतका सन्दर्भमा भिन्न मत राख्न र प्रतिवाद गर्न आग्रह गरेका थिए । 
कंग्रेसले राष्ट्रपति ट्रम्पको आग्रहलाई अस्वीकार गरेको थियो । पहिलो गणना एरिजोना राज्यको गरिएको थियो, जसमा बाइडेन विजयी भएका थिए । तल्लो सदनका १२१ जना रिपब्लीकन सांसदले एरिजोनाको नतिजालाई लिएर विमति राखेका थिए तर सिनेटका ६ जना रिपब्लिकन सदस्यले मात्र पक्ष लिए । 
सिनेटका रिपब्लिकन सदस्यले जर्जिया र मिचिगनमा पनि बाइडेन नै विजयी भएको भन्दै सहमति जनाएसँगै थप छलफल र बहस आवश्यक नै भएन । 
राष्ट्रपति ट्रम्पको कार्यकाल भर ट्रम्पका कट्टर समर्थकका रुपमा चिनिएका सिनेट रिपब्लिकन नेता मिच म्याक्कोनेलले ट्रम्पको अनुरोध स्वीकार्न कठिन भएको प्रतिक्रिया दिएका छन् । ‘मतदाता, अदालत र राज्य सबैले बोलिसके । यदि हामीले उनीहरुलाई विश्वास नगर्ने हो भने यसले हाम्रो गणतन्त्रलाई सदाका लागि नोक्सानी गर्नेछ ।’
पूर्वराष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसले लोकतान्त्रिक मुलुकका लागि राष्ट्रपति ट्रम्पको व्यवहार अमेरिकाका लागि लज्जाजनक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पको कार्यकाल मुश्किलले दुई हप्ता रहेको छ । तर धेरैवटा समाचार संस्थाले राष्ट्रपतिको मन्त्रिपरिषद्का सदस्यबीच राष्ट्रपति ट्रम्पलाई तत्काल बर्खास्त गर्नेबारे पनि छलफल भएको बताएका छन् । अमेरिकी संविधानको २५औं संशोधनका आधारमा राष्ट्रपति कार्यकारी भूमिकामा रहन अयोग्य रहेको अवस्थामा राष्ट्रपतिलाई पदच्यूत गर्न सकिने व्यवस्था छ । 
संसदीय न्यायिक समितिका सबै डेमोक्रेट सदस्यले उपराष्ट्रपति माइक पेन्सलाई लेखिएको पत्रमा राष्ट्रपति ट्रम्पले हिंसा भड्काउन र सामाजिक अस्थिरता ल्याउन भूमिका निर्वाह गरेकाले तत्काल पदबाट बर्खास्त गर्न आग्रह गरिएको छ । 
अमेरिकी संविधानमा राष्ट्रपति स्वेच्छाचारी भएमा उनलाई उपराष्ट्रपतिले पदच्यूत गर्न सक्ने प्रावधान पनि रहेको छ । तर चार वर्षसम्म ट्रम्पका अति विश्वासपात्र रहेका उपराष्ट्रपति पेन्सले एक वक्तव्य जारी गरी आफूलाई त्यस किसिमले हस्तक्षेप गर्नसक्ने अख्तियारी नभएको जिकिर गरेका छन् । 
बुधबारको हिंसा भड्किनुअघि ह्वाइट हाउस बाहिर भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले संसद् भवनसम्म मार्च गर्न उक्साउनु भएको थियो । बाइडेनले गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा ३०६–२३२ इलेक्टोरल मतले राष्ट्रपति ट्रम्पलाई पराजित गरेका थिए ।–एएफपी

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार