सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ । संसद्ले प्रमाणित गरेपछि अब बाइडनलाई जनवरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ । संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन् । संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो । इलेक्टोरल मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक हुन्छ । इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो ।
ट्रम्पले के भने ? संसद्को बैठकपछि डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै ‘जनवरी २० मा शान्तिपूर्ण हस्तान्तरण’ हुने बताए पनि निर्वाचनमा धाँधली भएको प्रमाणविनाको दाबी छाडेका छैनन् । ‘म यो निर्वाचनको नतिजाप्रति पूर्णरूपमा असहमत भए पनि जनवरी २० मा शान्तिपूर्ण हस्तान्तरण हुनेछ’, उनले आफ्नो प्रवक्ताको ट्वीटरमा प्रकाशित ट्वीटमा भनेका छन् । ट्विटरले ट्रम्पको खाता केही समयको लागि बन्द गरेको छ । ‘मैले सधैँ भनेको छु कि हामी कानुनी मत मात्रै गणना गराउने कानुनी संघर्ष जारी राख्नेछौं । यो राष्ट्रपतीय इतिहासमा सबैभन्दा महान कार्यकालको अन्त्य भए पनि अमेरिकालाई फेरि महान बनाउने संघर्षको सुरुवात मात्रै हो’, ट्रम्पले लेखेका छन् ।
जर्जियामा दुई डेमोक्रयाट विजयी यसअघि जोर्जियाका दुवै सिनेट सिटमा रिपब्लिकनलाई हराउँदै बाइडनको डेमोक्रयाटिक दलमा उम्मेदवार विजयी भएका छन् । यो विजयसँगै डेमोक्रयाटिक दलको माथिल्लो सदन सिनेटमा पनि बहुमत हुने भएको छ । राफेल वारनक र जोन ओस्अफले सिनेटर रहेका केली लोफलर र डेभिड पर्डुलाई हराएका हुन् । सन् २००९ यता पहिलो पटक डेमोक्रयातिक दलको नियन्त्रणमा संसद्को माथिल्लो सदन, तल्लो सदन र ह्वाइट हाउस हुने भएको छ । जर्जियाको निर्वाचनमा ४० लाखले मतदान गरेको बताइएको छ । दुवै विजयमा मतान्तर झिनो भए पनि रिपब्लिकनहरूको नियन्त्रणमा रहेको जर्जियामा डेमोक्रयाटिक दलको जित ट्रम्पको लागि नराम्रो झट्का हो । वारनक जोर्जियाबाट निर्वाचित हुने पहिलो अश्वेत र अमेरिकी सिनेटमा हालसम्मकै एघारौं अश्वेत सदस्य हुन् ।–एजेन्सी