महाकालीमा पानीको बहाव बढ्दा आवागमन ठप्प

सोमबार, भदौ १४, २०७८

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न वनबासा पुलमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार दिउँसोको मापनअनुसार महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख ४५ हजार क्युसेक नाघेको बताए ।  भारतीय पक्षले पुल जीर्ण रहेको कारण देखाउँदै नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि ठूला तथा मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको छ ।
‘नदीमा पानी बढेपछि आइतबार बेलुकीदेखि नै वनबासा पुलमा पैदल र मोटरसाइकल बाहेक ठूला सवारी चलेका छैनन्’, प्रहरी नायब निरीक्षक गुरुङले भने, ‘अहिले पानी घट्दो क्रममा रहेको बुझिएको छ ।’  पुल बन्द हुँदा नेपाल–भारत आवातजावत गर्ने यात्रुहरू प्रभावित बनेको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम औँल्याइए पनि यहाँबाट मजदुरीका लागि दैनिक सयौँ नेपाली भारत जाने गरेका छन् । गत जेठ महिनायता महाकाली नदीमा दुई पटक ठूलो बाढी आइसकेको छ । यसअघि आएको बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल संरचनामा क्षति पु¥याएको थियो । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडीमा अविरल वर्षा हुँदा र भारतले धौलीगङ्गाको बाँध खोल्दा यहाँ महाकाली नदीमा पानीको बहाव बढ्ने गरेको छ । आइतबार रातिदेखिको वर्षाका कारण दार्चुलामा जनधनको क्षति हुनुका साथै पहाडी जिल्लामा पहिरो जाँदा सडक अवरुद्ध बनेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  २२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार