सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं। अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र गर्न शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६: ०० देखि बिहान ५ : ०० बजेसम्म यातायातका साधान बन्द गरिएको हो । साथै, उक्त अवधिभर टिपरलगायत मालवाहक सवारीसाधनलाई भने पूर्णतः रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताए । उनका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैतमा २.५ किलोमिटर र आउँदो वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ । उक्त सडकखण्डमा सुरुमा ‘सिटीभी’ हाल्ने र त्यसपछि लक्ष्यअनुसार पक्की बनाउँदै लगिने योगेशले बताए । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि विभिन्न स्थानमा कटिङको कामबाट पुनस् स्तरोन्नति कार्यलाई तीव्रता दिइँदै आइएको हो । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सीएनएवान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । हाल साना संरचना तथा टेवा पर्खाल निर्माणका काम भइरहेको छ । चिसो मौसमका कारण सडकमा सतह (सर्फेस) को काम नभएको र चिसो कम हुँदै गएपछि पक्की बनाउने योजना बनाइएको योगेशले बताए । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको ‘स्लोप मेन्टेन’ र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाइको बन्ने उक्त सडकखण्को सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने छ । उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरीनाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा रहेको छ । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबीएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ ।