सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । युद्धले मध्यपूर्वको हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । विमानस्थल नागरिक उड्डयन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै शनिबारका लागि तय गरिएका विभिन्न वायुसेवा कम्पनीका उडानहरू रद्द गरिएको जानकारी दिएको हो । विमानस्थलका अनुसार शनिबार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, कुवेत एयरवेज र जजीरा एयरवेजका उडानहरू रद्द भएका छन् । विशेषगरी काठमाडौंबाट दोहा, दुबई, कुवेत र दमाम जाने तथा ती सहरहरूबाट काठमाडौं आउने उडानहरू पूर्ण रूपमा प्रभावित भए । रद्द भएका उडानहरूमा जजीरा र कुवेत एयरवेजका कुवेत–काठमाडौं उडानहरू, फ्लाई दुबईका दुबई–काठमाडौं उडानहरू र कतार एयरवेजका दोहा–काठमाडौं उडानहरू रहेका छन्। यस्तै, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका दोहा, दुबई र दमामका उडानहरू पनि रद्द गरिएको सूचनामा उल्लेख छ । हिमालय एयरलाइन्सले पनि आफ्ना दोहा र दमामका उडानहरू स्थगित गरेको छ । मध्यपूर्वको आकाशमा लगाइएको प्रतिबन्धका कारण उडानहरू ढिलाइ हुने, पुनःतालिका हुने वा रद्द हुने सम्भावना बढेको समेत विज्ञप्तिमा उल्लेख छ। विमानस्थल कार्यालयले उडान रद्द भएपछि यात्रुहरूको व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित एयरलाइन्स तथा अन्य निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ । उडान प्रभावित भएका यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीको वेबसाइट हेर्न वा विमानस्थलले उपलब्ध गराएका आधिकारिक टेलिफोन नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।