सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ एक विज्ञप्ति जारी गरी पछिल्लो तीन दिनमा मनसुनजन्य घटनाबाट नौ जनाको मृत्यु भएको र पाँचजना घाइते भएका जनाएको छ । उक्त अवधिमा ४२ घर पूर्ण क्षति भएको तथा सात सय ५६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यो वर्षाबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । प्राधिकरणले नेपालमा अधिकांश भेगमा वर्षा भएको र तराईको केही जिल्लामा डुबान तथा पहाडी क्षेत्रमा पहिराका घटना भइरहेको जनाएको छ । मुख्यगरी भारी वर्षाका कारण धेरै क्षेत्रमा जनजीवन प्रभावित हुन पुगको छ । अझै १५ गतेसम्म नै वर्षाको सम्भावना भए पनि आजदेखि भने केही घट्ने अनुमान गरिएको मौसम विज्ञान विभागले जनाएको छ । आज मात्रै विषयगत क्षेत्रमा सरकारी निकाय, सहयोगी तथा सरोकारवाला निकायको बैठक बसी जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा समन्वयात्मक रुपमा अघि बढ्ने निष्कर्ष निकालिएको छ । खोज, उद्धार तथा आश्रयस्थल तथा खाद्यान्न व्यवस्थापनमा स्थानीय तहसँगको समन्वयमा काम भइरहेको जानकारी गराइएको छ । खानेपानी सरसफाइ, प्राथमिक स्वास्थ्य सेवाका लागि समन्वयात्मक रुपमा अघि बढ्ने निर्णय पनि भएको छ । आवास पुनर्निर्माण तथा पुनस्र्थापनका लागि यसअघि जारी भएको कार्यविधिअनुसार अघि बढेको जनाइएको छ ।
सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, विभिन्न ठाउँमा कटान सुरु पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नदीको बहाव बढेसँगै अहिले ब्यारेजका ३८ वटा ढोका खुल्ला गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । चतरामा समेत कोशी नदीको जलस्तर बढेका कारण कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आङ्कलन गरिएको छ । यसैबीच सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेपछि श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान सुरु गरेको छ । नदीमा पानीको बहावमा आएको उतारचढावका कारण उक्त क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । सप्तकोशी नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको उनले जानकारी दिए । गरैया टापुका २० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । स्थानीयवासीलाई सुरक्षित स्थानमा ल्याउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको र उद्धार गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।