नारायणीले सतर्कता तह पार गर्यो

उच्च सतर्कता अपनाउन आग्रह
आइतबार, भदौ १३, २०७८

नवलपुर । नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले आग्रह गरेको छ । नारायणी नदीले देवघाटस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नदी तटीय क्षेत्रका बासिन्दाले आज रातिसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताइन् । “नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,” पङ्गेनीले भनिन्, “नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा ठूलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ ।”  जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा नारायणी नदीको तटीय क्षेत्रमा बसोबास रहेको भन्दै ती स्थानमा डुबान र कटानको समस्या देखिएको पङ्गेनीले बताए । 
त्यसैगरी जिल्लाका अन्य खोलामा समेत बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । बर्खामा बाढी र पहिराको उच्च जोखिम रहेको भन्दै उद्धारका लागि सुरक्षाकर्मीसहितको उद्धार टोली तयारी अवस्थामा राखिएको उनले बताए ।  देवघाटको बाढी मापन केन्द्रका अनुसार आज अपराह्न ४ः४५ बजे नारायणी नदीमा पानीको बहाव ७.७ मिटर रहेको छ । नारायणी नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता तहको विन्दु मानिएको छ भने नौ मिटरलाई खतराको तह मानिएको छ । नारायणी नदीमा पानीको बहाव अहिले पनि निरन्तर बढ्दो क्रममा रहेको बाढी मापन केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  २०:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार