सोसल मिडिया
Contact Us
युनिकोड
झापा । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका हात्ती लामो अवधिसम्म नेपालमै बसिरहँदा स्थानीयवासीमा त्रास बढेको मानव हात्तीद्वन्द्व न्यूनीकरण अभियानकर्मी शङ्कर लुइँटेलले बताए । भारतको सुकुना वन क्षेत्रबाट मेची नदी तरेर हात्तीको बथान आहारको खोजीमा बर्सेनि नेपाल पस्ने गथ्र्यो । नेपालले बाहुनडाँगीको तिरिङदेखि काँकरभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको सात वर्षपछि हात्तीको बथान नेपाल पसेको यो पहिलो पटक हो । हाल झापामा १३ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालयले जनाएको छ । ती हात्ती पनि कुनै बेला यसरी नै भारतबाट पसेर यतै बसेको हुनसक्ने लुइँटेलको अनुमान छ । हालै भित्रिएका हात्तीको बथान उत्तरी झापाको मेचीनगर, अर्जुनधारा र कनकाइको वन क्षेत्रमा डुलिरहेका छन् । ती वन क्षेत्रमा हात्तीले रुचाउने जङ्गली अठिया केरा र बाँसको तामाजस्ता आहारा प्रशस्त मात्रामा छ । नयाँ बथानले अहिलेसम्म मानवीय क्षति नगरे पनि कनकाइको सुकेडाँगीमा एउटा घरपालुवा जनावर मारेको थियो । जङ्गल आसपास मानव वस्तीमा हात्ती डुल्ने गर्दा स्थानीयवासीमा त्रास बढेको छ ।