नेकपाले बनायो माधव नेपालको अध्यक्षतामा गृहकार्य टोली

टोलीले सात दिन भित्र सुझाव दिने 
मंगलबार, पुस २१, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी एकतालाई पूर्णता तथा साङ्गठनिक कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गृहकार्य टोली बनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार र सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । टोलीमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र शक्तिबहादुर बस्नेत सदस्य रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । टोलीले प्रदेश र  जिल्ला कमिटी तथा सबै जनवर्गीय सङ्गठनका पदाधिकारी र पार्टी तथा सङ्गठनको एकीकरणका काम तत्काल पूरा गर्न सुझाव दिने छ । टोलीलाई एक साताभित्र सुझाव दिन पनि बैठकले निर्देशन दिएको छ । बैठकमा प्रदेश र विभिन्न मोर्चा सङ्गठनको नेतृत्वको जिम्मेवारीमा रहेका स्थायी कमिटीका सदस्यले पार्टीको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । 
बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले पहिलो चरणमा गरेको सङ्घर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ठहर गर्दै यही पुस १८ गते घोषणा गरिएको सङ्घर्षको कार्यक्रम सफल पार्न सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष नेपालका अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असफल पारेर प्रतिनिधिसभा पुनःसञ्चालन नगर्दासम्म सङ्घर्ष जारी राख्ने र सङ्घर्षलाई हरहालतमा सफल बनाउने निर्णयसमेत गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको सङ्घर्षमा अन्य राजनीतिक दलसँग पनि छलफल गरेर अगाडि बढ्ने निर्णय गरिएको छ । बैठकले केन्द्रीय सङ्घर्ष समितिका अतिरिक्त प्रदेश, जिल्ला, पालिका र वडास्तरमा सङ्घर्ष समिति बनाउने र  केन्द्रीय सङ्घर्ष समितिको कार्यालय गठन गर्ने निर्णय गरेको छ । केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजकमा स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराई, पम्फा भुसाल र गणेश साहलाई चयन गरिएको छ । बैठकपछि प्रवक्ता श्रेष्ठले प्रतिनिनिधिसभा विघटनविरुद्ध रहेका सबै शक्ति एकताबद्ध भएर आन्दोलनमा जाने गरी सहमति खोज्ने प्रयास भइरहेको बताए ।
 

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  ०५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार