लाखे नाचमा रमाए बुलुका स्थानीय

सोमबार, भदौ ७, २०७८

गाईजात्रा पर्वका अवसरमा ललितपुरको बुलुमा देखाइएको लाखे नाच । कोरोना जोखिमकाबीच चापागाउँ बुलवासीले भौतिक दूरी कायम गर्दैै गाईजात्राका अवसरमा लाखे नाच देखाए । नेवार समुदायको बाक्लो बस्ती रहेको क्षेत्रमा गाइजात्रा पर्वमा लाखे नाच देखाइन्छ । राजधानीका असन, इन्द्रचोक, क्षेत्रपाटी, भक्तपुर, ललिपतकार नेवार वस्तीमा गाइजात्रा निकालिने तथा लाखे नाच देखाइने गरिन्छ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आजदेखि विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ भएको छ । राजधानीका तीन जिल्लामा पनि फरकफरक तरिकाले यो जात्रा मनाइन्छ । नेवार समुदायको बाक्लो बस्ती भएका बजार क्षेत्रमा विशेष रुपमा यो पर्व मनाउने गरिन्छ । 

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईलाई वैदिक सनातन धर्मावलम्बीले गौमाताका रुपमा पूजा गर्ने परम्परा छ ।

गाईजात्राको ऐतिहासिक तथ्य
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ । 
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यसवर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको थियो । 
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार