बरिष्ठ नेता नेपाललाई फकाउँदै ओली

नेकपा विवाद 
आइतबार, कात्तिक २३, २०७७

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग दूरी बढ्दै गएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपाी ओलीले प्रचण्डसमूहलाई फेरि फुटाउन प्रयास थालेका छन् । यसको सुरुवातका लागि ओली आइतबार प्रचण्ड समूहमा रहेका नेपालबाटै सुरुवात गरेका छन् । पार्टीभित्र अल्पमतको सामना गरिरहेका ओलीले लगातार आन्तरिक समिकरण फेरबदलको प्रयास जारी राख्ने गर्छन् । 
प्रचण्डसहित सचिवालयका पाँच सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको अर्काे दिन प्रधाममन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद गरी प्रचण्डसमूहलाई फुटाउने रणनीति अख्तियार सुरु गरेका हुन् । वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री ओलीले संवादका लागि बालुवाटार बोलाएर छलफल गरे । छलफलमा नेपालले आफुनिकट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि लगेका थिए ।
बैठकको सहमतिका लागि लिखित आग्रह गर्दै शनिबार बालुवाटार जाने पाँच नेतामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए । शनिबारको बैठकमा नेता नेपालले ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । त्यसको अर्काेदिन ओलीले छलफलका लागि बोलाएका हुन् । 
यसअघि कात्तिक ५ र ११ मा प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । तर, नेपालले लगातार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आएका छन् ।
पार्टीभित्र अल्पमतको सामना गरिरहेका ओलीले ओलीले लगातार आन्तरिक समीकरण फेरबदलको कोसिस जारी राखेका छन् । 
त्यसअगाडि साउन ९ मा पनि प्रधानमन्त्री ओलीले नेता नेपालसँग छलफल गरेका थिए । पार्टीभित्र आफुमाथि दबाब बढ्दा ओलीले वरिष्ठ नेताहरुसँग छुट्टाछुट्टै पनि भेट गर्दै आएका छन् ।
नेपालले सोधे ‘पार्टी एकता बचाउने तपाईंको प्रस्ताव के हो ?’
वरिष्ठ नेता नेपालले संकटमा परेको पार्टी एकतालाई बचाउन प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग ठोस प्रस्ताव मागेका छन् । 
बालुवाटार छलफलमा प्रधानमन्त्री ओलीले पार्टी एकता संकटमा रहेको भन्दै एकता जोगाउने भूमिका खेल्न नेता नेपाललाई आग्रह गरेका थिए । छलफलमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार नेता नेपालले पार्टीमा देखिएको समस्या समाधानका लागि ओलीसँग प्रस्ताव मागेको जानकारी दिए । नेता नेपालले अहिलेको संकट हल गर्ने विधि र प्रस्ताव के हो ? भनेर प्रधानमन्त्री ओलीसँग प्रस्ताव मागे पनि स्पष्ट जवाफ नदिएको नेताहरुले बताएका छन् । 
नेता नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको हुँदा एकता जोगाउन ओलीको मुख्य भूमिका हुने बताएका थिए । ‘हामीले पार्टी एकता अप्ठ्यारो ठाउँमा आइपुगेको छ भन्दा उहाँ (ओली) ले हो अप्ठ्यारो ठाउँमा छ भन्नु भयो । फुट्न दिनुहुन्न हामीले भन्यौं । उहाँले पनि फुट्न दिनुहुन्न नै भन्नु भयो’ नेता पन्तले भने ।
अहिलेको समस्याको निकास बैठक भएकाले त्यसबाट मात्रै समस्याको समाधान खोज्न नेता नेपालको आग्रह थियो । ‘प्रधानमन्त्री पनि तपाईं हुनुहुन्छ, पार्टी अध्यक्ष पनि तपाईं हुनुहुन्छ । फुट्न दिने नदिने भन्ने कुरा धेरै तपाईंमा भर पर्छ । तपाईं लचिलो भएर भूमिका खेल्नु प¥यो । पार्टी बैठक नियमित राख्नु प¥यो हामीले भन्यौं,’ नेता पन्तले भने ।
बालुवाटारमा भएको तीन घण्टा लामो छलफलमा नेता रावलले पार्टीभित्र उत्पन्न समस्याका विषयकेन्द्रित भएको कुनै निर्णय वा सहमति नभएको बताए । ‘पार्टी भित्र उत्पन्न जुन समस्या छ, त्यसमा नै छलफल भयो । यो बीचका घटनाक्रम र देखिएका कुराहरुका सन्दर्भमा विचार आदानप्रदान ग¥यौं । तत्सम्बन्धमा कुनै ठोस प्रस्ताव वा कुनै सहमति भने केही भएन’, नेता रावलले भने ।
छलफलमा प्रधानमन्त्री ओलीले पार्टी फुटको खतरा बढेको निष्कर्ष सुनाएका थिए । तर पनि प्रधानमन्त्री ओली बैठक राख्नेबारे सहमत नभएको पनि नेता पन्तले बताए । ‘विहारमा चुनाव भइरहेको छ, अमेरिकामा चुनाव भइरहेको छ । हाम्रो केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भन्ने हुँदैन । बरु त्यसको लागि तयारीहरु आवश्यक छ भने गरौं हामीले भन्यौं’, पन्तले भने, ‘बैठक राखौंला नि मात्रै भन्नु भयो । कहिले राख्ने, के गर्ने भन्ने त्यस्तो केही भन्नु भएन ।’
नेपालले जबजलगायतका गतिविधि सञ्चालन गरिरहेको मदन भण्डारी फाउन्डेशनका क्रियाकलाप रोक्न आग्रह गर्दा ओलीले आफूले त्यस्तो क्रियाकलाप रोक्न नसकिने जवाफ दिएका थिए । अन्य विषयमा छलफल हुँदा नै प्रधानमन्त्री ओलीले हाँस्दै दोस्रो पटक किड्नी फेरेपछि आफू झन झन बलियो भएको बताएका थिए । ओलीको स्वास्थ्य अवस्थाबारे प्रसंग ननिस्के पनि उनी आफैंले आफ्नो स्वास्थ्यबारे कुरा राखेका थिए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  २०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार