सोसल मिडिया
Contact Us
युनिकोड
उजुरीकर्ता सम्पर्कमा आएनन्
काठमाडौं । डा. युवराज खतिवडासहित तीनजना प्रस्तावित राजदूतहरुको संसदीयय सुनुवाई आगामी २७ गते सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी दिने उजुरीकर्ता सम्पर्कमा नआएपछि सुनुवाई प्रक्रिया थालनि गर्न लागेको हो ।
असोज १६ को मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिमा खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी परेका थिए । अर्को एउटा उजुरी परेपनि उजुरीदिन तय गरिएको मिति पछि आएकोले त्यसलाई मान्यता दिइएको थिएन ।
उजुरीकर्ता नै सम्पर्कमा नआएपछि सुनुवाइ समितिले गत कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेर सम्पर्कमा आउन भनेको थियो । सोमबार कात्तिक १७ गते समितिको बैठकमा पनि उजुरीकर्ता सम्पर्कमा नआएपछि २७ गतेको बैठकमा प्रस्तावित राजदूतहरुमाथि सुनुवाइ हुने निर्णय बैठकले गरेको हो ।
राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।
नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्का (जर्मनी) लाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्दै आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।