सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि गर्न तथा गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने भन्दै उपभोक्ताले गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि विद्युत् चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार गर्न आवश्यक रहेको उल्लेख गरे। चुहावट नियन्त्रण, पूर्वाधार स्तरोन्नति तथा विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिए । प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा पाँच लाख ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो चार महिनामा एक अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन भएको छ। यो लक्ष्यको ९९.१ प्रतिशत हो । त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा ट्रान्सफर्मर जल्ने घटनामा ७२.५ प्रतिशतभन्दा बढी कमी आएको छ। आर्थिक वर्ष २०८२-८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा मात्रै जलेका छन् । मन्त्री श्रेष्ठले यसलाई वितरण प्रणालीमा आएको सुधारको सकारात्मक संकेतका रूपमा व्याख्या गरे । गण्डकी प्रदेशमा १३ वटा वितरण केन्द्र, चार हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३÷११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ । तर, प्रदेशमा विद्युत् चुहावट ६.७८ प्रतिशत रहेको छ, जुन चालु आर्थिक वर्षका लागि निर्धारित ६.६५ प्रतिशतको लक्ष्यभन्दा बढी हो। चुहावटलाई निर्धारित सीमाभित्र ल्याउन प्रभावकारी कदम चाल्न मन्त्री श्रेष्ठले निर्देशन दिए । प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशमा विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । बाढीपहिरोका कारण ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ । क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।