जुम्लामा श्रीमानको कुटपिटबाट २० वर्षीया महिला गम्भीर घाइते, श्रीमान् प्रहरी नियन्त्रणमा

शनिबार, मंसिर ५, २०८३

मुगु । जुम्लामा श्रीमानको कुटपिट बाट २० वर्षीया एक महिला गम्भीर घाइते भएकी छन् । हिमा गाउँपालिका–७ मच्ची गाउँकी कर्मकन्या वड श्रीमानको कुटपिट बाट घाइते भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचाररत रहेकी छन् । गत मंसिर ३ गतेदेखि अस्पतालमा उपचार गराइरहेकी कर्मकन्याको मुख र कानमा गम्भीर चोट लागेको छ । पीडितका अनुसार उनका २२ वर्षीय श्रीमान् उमेश त्रिरुवाले नशा सेवन गरी पटक–पटक कुटपिट गर्दै आएका थिए। यसपटकको कुटपिटबाट उनको माथिल्लो ओठमा गम्भीर चोट लागेको र कानबाट समेत रगत बगेको पीडितले बताएकी छन् । यसअघि पनि पटक–पटक कुटपिटमा परेको उनको भनाइ छ । पीडितको माइतीघर सिंजा गाउँपालिका–२ चुलेल गाउँ हो । उनका दाइ सुनजित वडका अनुसार बहिनीले लामो समयदेखि श्रीमान्को हिंसा सहँदै आएकी थिइन् । घरबार बिग्रिन नदिन परिवारले पटक–पटक मिलापत्र गराएर श्रीमान्को घर पठाए पनि हिंसा नरोकिएको उनले बताए । पीडित परिवारले घटनामा श्रीमान् उमेश त्रिरुवा र सासू धौली त्रिरुवाको समेत संलग्नता रहेको आरोप लगाएको छ । घटनालाई ज्यान मार्ने उद्योगसँग सम्बन्धित भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आरोपित उमेश त्रिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ ।

घरेलु हिंसाविरुद्ध न्यायको माग

घरपरिवार र समाजको डरले पटक–पटक हिंसा सहन बाध्य भएकी कर्मकन्याको घटनाले जुम्लामा घरेलु हिंसाको गम्भीर अवस्थालाई पुनः उजागर गरेको छ । घरबार जोगाउने नाममा महिलामाथि हुने हिंसालाई सामान्य रूपमा लिन नहुने भन्दै पीडितको सुरक्षा, उपचार र न्याय सुनिश्चित गर्नुपर्ने आवाज उठेको छ । विवाहको अर्थ हिंसा सहनु होइन। कुनै पनि बहानामा महिलामाथि कुटपिट र दुर्व्यवहार स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिने व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार