सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार जारी खेलमा दुई पटकको उप–विजेता सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई जितका लागि एक सय २६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय २५ रन बनायो । सुदूरपश्चिम रोयल्सका ब्याट्सम्यान प्रारम्भदेखि नै काठमान्डु गोर्खाजका बलरहरुको दबाबमा परेका थिए । तीन ओभरको खेल सकिनुअघि नै सुदूरपश्चिमले चार प्रभावशाली विकेट गुमाइसकेको थियो । सुदूरपश्चिमले पहिलो ओभरको चौथो बलमै स्कट कुगेलेइन (६ रन) लाई गुमाएको थियो । त्यसलगत्तै, सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा ब्रान्डन म्याकमुलेन (शून्य रन) लाई गुमायो । सोही ओभरको पाँचौं बलमा ईशान पाण्डे पनि खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । तेस्रो ओभरको तेस्रो बलमा विनोद भण्डारी (एन रन) पनि आउट भए । त्यतिबेलासम्म सुदूरपश्चिम रोयल्सले आठ रनमात्र बनाउन सकेको थियो । त्यसपछि, सुदूरपश्चिम निकै दबाबमा परेको थियो । सुदूरश्चिम रोयल्सका माथिल्ला चार विकेट काठमान्डु गोर्खाजका बलर जहाँदाद खान र सन्तोष यादवले लिएका थिए । त्यसपछि, सुदूरपश्चिमको पालीलाई कप्तान दीपेन्द्र ऐरी र आरिफ शेखले सम्हाल्ने प्रयास गरेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा यी दुई ब्याट्सम्यानले पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे । १३औं ओभरमा आरिफ शेख २५ बलमा एक चौकाको मद्दतले १६ रन बनाउँदै दूर्भाग्यपूर्ण तरिकाले रन आउट भएपछि यो साझेदारी तोडिएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ५५ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले टोलीका लागि ६० रनको योगदान गरे । सातौं नम्बरमा क्रिज समाल्न आएका थारिन्दु रत्नायकेले पनि टोलीको खातामा अविजित २६ रन थपे । उनले २३ बलको सामना गरी तीन चौका पनि हिर्काए । जारी एनपीएलमा दीपेन्द्रले दोस्रो अर्धशतक बनाएका हुन् । उनले पोखरा एभेन्जर्सविरुद्ध पनि अर्धशतक बनाएका थिए । उनी सुदूरपश्चिम रोयल्सका लागि अर्धशतक बनाउने एकमात्र खेलाडी पनि हुन् । दीपेन्द्र एनपीएलको तेस्रो संस्करणमा अर्धशतक बनाउने १६औं खेलाडी हुन् । जारी एनपीएलमा हालसम्म १९ अर्धशतक बनिसकेको छ । दीपेन्द्रका अतिरिक्त, पोखरा एभेन्जर्सका युवराजसिंह सामरा, काठमान्डु गोर्खाजका रासिद खान र विराटनगर किङ्सका लोकेश बमले पनि दुई–दुई अर्धशतक बनाएका छन् । प्रारम्भमा आक्रामक देखिएका काठमान्डुका बलरहरुले ‘पावर प्ले’ सकिएपछि भने कुनै कमाल गर्न सकेनन् । जहाँदाद खानले तीन र सन्तोष यादवले दुई विकेट लिए ।