सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध दुष्प्रचार तथा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसको निष्पक्ष छानबिनका लागि कांग्रेस तयार रहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकपछि सहमहामन्त्री प्रकाश रसाइलीले उक्त निष्कर्ष निकालेको जानकारी दिएका हुन् । उनले भने, ‘सरकार केन्द्रित केही व्यक्तिहरू संलग्न भएर नेपाली कांग्रेस पार्टीका विषयमा दुष्प्रचार गर्ने, पार्टी नेतृत्वका बारेमा खराब प्रचार गर्ने र नेपाली कांग्रेस पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भएको छ । जस्तोसुकै छानबिनका लागि पनि नेपाली कांग्रेस पार्टी तयार छौँ, हाम्रो नेतृत्व तयार छ । तर प्रमाणका आधारमा हुनुपर्छ । बिना प्रमाण पूर्वाग्रही ढंगले गरिने कुरालाई हामी स्वीकार गर्दैनौँ ।’ रसाइलीले छानबिन प्रतिशोधपूर्ण भए कांग्रेसले प्रतिकार र प्रतिवाद गर्ने चेतावनीसमेत दिए । सत्यतथ्य र प्रमाणका आधारमा प्रक्रिया अघि बढेमा छानबिनमा सहयोग गर्ने उनले स्पष्ट पारे । उनले यस विषयमा संसद् र संसदीय समितिमा पनि छलफल हुनुपर्ने बताए । सांसदहरूसँग भएको छलफलमा उक्त विषयलाई संसदीय समिति र संसद्मा कसरी प्रभावकारी रूपमा उठाउने भन्नेबारे पनि कुराकानी भएको उनले जानकारी दिए । बैठकमा भोटेकोसी क्षेत्रमा दसैँका बेला प्रभावित भएका नागरिकको अवस्थाबारे पनि छलफल भएको रसाइलीले बताए । प्रभावित नागरिकले बस्न, खान र बासको व्यवस्था पाउन नसकेको उल्लेख गर्दै उनले उनीहरूको वर्तमान अवस्था बुझ्नुपर्ने बताए । उनले भने, ‘दसैँको बेलामा पनि धेरै आम नागरिकहरूको बिचल्ली हामीले त्यहाँ देख्यौँ । बस्न नपाएको, खान नपाएको, साह्रै पीडामा रहेका नागरिकहरूको गास, बासको अवस्था के छ भन्नेबारे स्थानीय जनप्रतिनिधि र संघीय सांसदहरूलाई बोलाएर छलफल गर्ने र आवश्यक पर्ने सहयोग पार्टीले गर्ने विषयमा कुरा भएको छ ।’