कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

शनिबार, कात्तिक १४, २०८३

सर्लाही । कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीलेआग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज शनिबार जारी गरेको जरुरी सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रबाट प्राप्त जानकारीका आधारमा कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढिरहेको छ । सूचनामा उल्लेख भएअनुसार शनिबार दिउँसो १२ बजे जलाशयको जलसतह १५२८.१५ मिटर पुगेको छ। पानीको हालको बहाव र जलाशयमा भरिरहेको पानीको अवस्थालाई आधार मान्दा साँझ करिब ४ बजेसम्म जलसतह १५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ । जलाशयको जलसतह १५२८.५० मिटर पुगेपछि पूर्वसतर्कतास्वरूप पहिलो साइरन चेतावनी बजाउने तथा एसएमएसमार्फत सूचना प्रवाह गर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । जलसतह बढ्दै जाँदा बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आउन सक्ने र त्यसबाट मुख्य ड्यामको तल्लो तटीय क्षेत्रअन्तर्गत सिस्नेरी खोला तथा बागमती नदी किनारमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले प्रशासनले नागरिकको सुरक्षाका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न, सिस्नेरी खोला र बागमती नदी किनार तथा आसपासका मार्गमा रातिको समयमा आवतजावत नगर्न र नदी किनारमा माछा मार्ने, दाउरा संकलन गर्ने, चौपाया चराउनेलगायतका गतिविधि नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचनामार्फत सम्भावित जोखिमबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सबै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार