वर्षाका कारण एनपिएल प्रभावित

शनिबार, कात्तिक १४, २०८३

काठमाडौं । लगातारको वर्षाले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा आजको पहिलो खेल प्रभावित हुने देखिएको छ । साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच आज पहिलो खेल हुने तालिका छ । दुबै टोलीको यो दोस्रो खेल हो । दुबैले जितका साथ सिजन ३ को सुरुवात गरेका थिए ।  लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेट र चितवनले विराटनगर किंग्सलाई ८ रनले हराएको थियो। खेल रद्द भएको अवस्थामा १–१ अंक बाडिनेछ । अघिल्ला दुई संस्करणमा चितवनले लुम्बिनीलाई हराउन सकेको छैन । दुवै पटकलुम्बिनीले चितवनमाथि जित निकालेको थियो । एनपिएलको पहिलो संस्करणमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । जवाफमा चितवनले ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो । त्यस्तै, दोस्रोमा लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । चितवनले दिएको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । आज साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम बीच खेल हुने तालिका छ । पहिलो खेलमा लुम्बिनीसँग पराजित सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । विराटनगर भने पहिलो खेलमा चितवन र दोस्रोमा कर्णाली याक्ससँग पराजित भएको थियो । 

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार