सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा विराटनगर किङ्सले कर्णाली याक्सलाई जितका लागि एक सय ८७ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किङ्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ८६ रन बनायो । जारी सिजनको एनपीएलमा हालसम्म कुनै पनि टोलीले बनाएको यो नै उच्च स्कोर हो । यसअघि विराटनगरविरुद्ध चितवन राइनोजले एक सय ५७ रन बनाएको थियो । विराटनगरका लागि ओपनर ब्याट्सम्यान लोकेश बमले ८७ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ५२ बलको सामना गरी नौ छक्का र तीन चौका हिर्काए । लोकेश एनपीएलको तेस्रो संस्करणको एउटै खेलमा सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी पनि हुन् । यसअघि, विराटनगरविरुद्धको खेलमा चितवन राइनोजका डेविड मलानले ७० रन बनाएका थिए । २६ वर्षीय लोकेश जारी एनपीएलमा अर्धशतक बनाउने चौथो खेलाडी हुन् । बिहीबार नै काठमान्डु गोर्खाजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका मोइन अलीले अर्धशतक बनाएका थिए । त्यसअघि, विराटनगरविरुद्ध चितवनका मलानले र पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । कर्णालीविरुद्धको खेलमा विराटनगरका लागि एन्जेलो म्याथ्यूजले पनि ३१ रनको योगदान गरे । उनले २३ बलको सामना गरी चार चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका आन्द्रे रसेलले पनि आक्रामक ब्याटिङ गर्दै टोलीको खातामा २७ रन थपे । उनले केवल १५ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । सेहन जयसूर्याले पनि १० बलमा एक छक्काको मद्दतले ११ रन बनाए । बसिर अहमदले सात बलमा एक छक्का र एक चौकाको मद्दतले १३ रन जोडे । कर्णाली याक्सका बलर सोमपाल कामी एक्लैले चार विकेट लिए । कप्तानसमेत रहेका सोमपालले चार ओभरमा ३३ रन खर्चिए । मार्क वाट र नन्दन यादवले पनि एक विकेट हात पारे ।