सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना हुनै नसक्ने जिकीर गरेका छन् । ‘आफूले करिब ६४ प्रतिशत जनमतको प्रतिनिधित्व गरेकाले संसद् विघटनको प्रस्ताव उपर अदालतले पुनःस्थापनाको फैसला गर्न सक्दैन’ नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा ओलीले भने । उनले लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व कमजोर हुने निश्चित देखेपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जान लागिएको जिकिर गरे ।
चुनाव चिह्न ‘सूर्य’ पनि आफ्नै नेतृत्वलाई ओलीले आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने दावी गरेका छन् । उनले आफू नै पार्टीको आधिकारिक पहिलो अध्यक्ष रहेकाले पार्टीको नाम ‘नेकपा’ र चुनाव चिह्न ‘सूर्य’ हुनेमा निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गरे । ‘उहाँहरु (प्रचण्ड–माधव) केन्द्रीय कमिटीमा बहुमतको कुरा गर्दै पार्टीको नाम र चुनाव चिह्न आफ्नो भन्दै हिँड्नुभएको छ’, ओलीले प्रश्न गर्दै भने, ‘कहिलेको महाधिवेशनबाट उहाँहरु बहुमतमा पुग्नुभयो ?’ प्रचण्ड–माधव समूहका नेताहरुको बहुमतले पार्टी नाम र चुनाव चिह्नका बारेमा कुनै अर्थ नराख्ने जिकिर उनको थियो । उनले आफू नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षाका बारेमा छिमेकी मुलुकका प्रधानमन्त्री र राष्ट्रपतिसमेत जानकार हुँदा आफैं पार्टीका नेताले राष्ट्रिय आकांक्षाप्रति वैरभाव राखेको आरोप लगाए । ‘भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिले महान् अभियानलाई साकार रूप दिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो’, ओलीले भने, ‘पार्टीभित्र थाहा नपाएजस्तै गर्नुभयो । नेपाल अहिले अन्तर्राष्ट्रिय समारोहमा आफ्ना आवाज बुलन्द गर्न सक्ने अवस्था पुगेको छ ।’ उनले कोभिड नियन्त्रणमा सरकारले प्रभावकारी पहल गरिरहेको भन्दै कम्बोडियाले जहाज चार्टर्ड गरेर औषधि पठाएर सहयोग गरेको जानकारी दिए । उनले सरकारले विकास र समृद्धिको क्षेत्रमा उल्लेख्नीय काम गरेको भन्दै सरकारले गरेका काम जनतामाझ लिएर जाने बताए । उनले पार्टी एकता भए पनि पार्टी कामको जिम्मा पाएका द्वितीय अध्यक्षले संगठन सुदृढीकरणमा प्रभावकारी कदम नचाली सरकार असफल गराउने काममै केन्द्रित रहँदा पार्टीमा समस्या आएको जिकिर गरे । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–माधवले नेतृत्वमा पुग्नका लागि अस्वभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका लागि षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाए । उनले माधव नेपाल नवौँ महाधिवेशनबाट पराजित भए पनि पराजय स्वीकार नगरी प्रतिशोध र कुण्ठा साँधेर ओलीको विरुद्धमा योजनाबद्ध लागेको जिकिर गरे । गृहमन्त्री रामबहादुर थापाले नयाँ जनादेश नै सही मार्गचित्र रहेको औँल्याउँदै गणतन्त्र, संघीयता, समृद्धि र राष्ट्रियतालाई एजेण्डा बनाई निर्वाचनमा केन्द्रित हुने बताए । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि नै कृत्रिम आरोप सिर्जना गरेकाले पार्टी विभाजनको अवस्थामा गएको बताए । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठल बल्खु र धुम्बाराहीमा रहेको सम्पत्तिमा आफ्नो समूहको रहेको दाबी गरे ।