Dashain Banner
Dashain Banner

बुढीगण्डकी बाढीपछि कहाँ कस्तो असर 

आइतबार, असोज २५, २०८३

काठमाडौं । बुढीगण्डकी नदीमा आइतवार बिहान सुरू भएको बाढी खतरा तहभन्दामाथि रहेको र घटबढ हुने क्रम जारी रहेको अधिकारीहरूले बताइरहँदा हालसम्म मानवीय क्षति पुष्टि नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले गृह मन्त्रालय मातहतको कमान्ड पोस्टले केही निर्णयहरू लिएको जानकारी दिँदै प्रभावित स्थलहरूबाट तथ्याङ्क लिने र स्रोतहरू परिचालन गर्ने क्रम जारी रहेको बताइन् । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले खोज तथा उद्धारमा ४ वटा हेलिकोप्टर परिचालन गरिएको र हालसम्म ४७ जनालाई उद्धार गरिएको जानकारी दिए। उनका अनुसार जमिनबाट पनि सैनिक टोलीहरू खटिएका छन् । उक्त बाढीले बुढीगण्डकी जलविद्युत परियोजनामा केही क्षति पुर्‍याएको अधिकारीहरूले जनाएका छन् । बाढी पूर्वानुमान महाशाखाका अनुसार त्रिशूली नदी बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिङसम्म उच्च जोखिम र चितवन तथा नवलपरासीमा नदी आसपास मध्यम जोखिम रहेको छ । ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई उच्च स्थानमा रहन अनुरोध गरिएको महाशाखास्थित वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीले बताए । महाशाखाका अनुसार गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक बढी भएको छ । त्योसँगै अधिकारीहरूले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबलाई सतर्क हुन अनुरोध गरेका छन् ।

photo-2_94f17ef8-1791704578.jpeg
कति भयो क्षति ?
‘केही पुलहरू बगाएको भन्ने जानकारी आएको छ । मानवीय क्षतिको चाहिँ अहिलेसम्म विवरण आएको छैन । विभिन्न ठाउँमा उद्धारमा जनशक्तिहरू परिचालन गर्ने काम भइरहेको छ,’ प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन् । अहिलेसम्म बेपत्ताको पनि खासै विवरण नआएको भन्दै एक ठाउँमा केही व्यक्तिहरू गोठमा रहेको हुन सक्ने भन्ने जानकारी आएपछि त्यसबारे पालिकाले समन्वय गरिरहेको जानकारी दिइन् । अधिकारीहरूले भूउपग्रहबाट प्राप्त तस्बिर र नेपाली सेनाले गरेको हवाई रेकीले माथिल्लो भेगमा पहिरो जाँदा गोरखाको चुमनुम्ब्रीमा बाढी आएको जस्तो देखिएको बताइरहेका छन् ।
‘चुमनुम्ब्री गाउँपालिकाको वडा नम्बर ६ मा पहिरो खसेको तर बाढी चाहिँ ३ नम्बर वडामा आएको प्रारम्भिक जानकारी आएको छ । हामीले भूगर्भविद्हरूसहितको प्राविधिक टोली पठाएका छौँ । साँझसम्म त्यहाँ गएको टोलीले त्यसलाई भेरिफाई गरेपछि हामी थप विवरण उपलब्ध गराउँछौँ’, सेनाका प्रवक्ता बस्नेतले भने ।   बाढी उच्च ठाउँमा पुगेका कतिपय व्यक्तिहरूले उद्धार गरिदिन भन्दै अनुरोध गरेका उल्लेख गर्दै प्राधिकरणकी प्रवक्ताले तीन–चार वटा हेलिकप्टर उद्धारमा खटिएको जानकारी दिइन्। प्रभावितहरूलाई आरुघाटमा ल्याएर राख्ने तयारी रहेको उनले जनाइन् । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तल्लो तटीय जिल्ला उद्धार कार्यमा प्रहरीलाई खटाइएको उल्लेख गर्दै केही पुल र संरचनाहरूमा क्षति पुगेको विवरण आएको जनाए। तर अहिलेसम्म क्षतिको यकिन विवरण नआइसकेको उनले सुनाए । गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुढीगण्डकी नदीमा पानी घट्न थालेको जानकारी दिँदै नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धारका कामहरू भइरहेको जानकारी दिएका छन् । उनका अनुसार एउटा चुमनुम्ब्रीस्थित एउटा गोठबाट ५ देखि ६ जना सम्पर्कविहीन रहेका जानकारी आएको भन्दै त्यसलाई पुष्टि गर्ने प्रयास भइरहेको बताए । हालसम्म मानवीय क्षतिको कुनै जानकारी नआएको बताएका उनले ३ वटा झोलुङ्गे पुल र एउटा बेली बृजलाई बाढीले बगाएको उल्लेख गरे । गोरखामा २० देखि २५ वटा घरहरू बाढीले बगाएको बताएका प्रमुख जिल्ला अधिकारी मिश्रले निर्माणाधीन बुढीगण्डकी जलविद्युत्‌ आयोजनाको चुमनुम्ब्रीस्थित क्याम्पलाई पनि बगाएको उल्लेख गरे । ‘हाम्रो ध्यान अहिले उद्धार कार्यमा केन्द्रित छ। जहाँ मानिसहरू फेला पर्नुभएको छ, नेपाली सेनाले हेलिकोप्टरमार्फत्‌ उद्धार गरिरहेको छ।’ उनले भने ।

बाढी सिर्जना कहाँबाट भयो ? 
वरिष्ठ जलविज्ञानविज्ञ पराजुलीका अनुसार आइतवार बिहान ४ बजे गोरखास्थित बूढीगण्डकी नदीको चुमनुब्री गाउँपालिकास्थित चुमचेक क्षेत्रबाट ठूलो बाढी सिर्जना भएको हो । ‘पहिलो बाढी आरुघाट आसपास क्षेत्रमा आज बिहान साढे ६ बजेतिर आएको थियो र त्यो सानो थियो । दोस्रो अलि ठूलो बाढी ७ बजेर ५० मिनेटमा आएको हो र त्यो पनि घटेको छ। तेस्रो बाढी आरुघाट क्षेत्रमा देखिन्छ,’ उनले भने ।बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोलामा रहेको झोलुङ्गे पुल बगाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार बाढीले आरुघाटको सोती र मान्बु जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । बुढीगण्डकी बाढीबाट कुनै मानवीय क्षतिबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘एकिन विवरण नआए पनि ठूलो भौतिक क्षति भएको आकलन गरिएको छ । सल्लेरी बजार र जगत्‌ बजारमा ठूलो क्षति भएको बुझिएको छ । तर मानवीय क्षति भएको अहिलेसम्म जानकारी हामीलाई छैन,’ उनले अगाडि थपे । बाढीले उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक बगाएका छन् ।

बूढीगण्डकी

सम्भावित कारण के ?
बाढी पूर्वानुमान महाशाखास्थित जलविज्ञानविज्ञ पराजुलीका अनुसार बाढीको कारण अहिलेसम्म स्पष्ट भएको छैन । ‘पहिरोले नदी थुनिएर बाढी आएको हो कि भन्ने हाम्रो प्रारम्भिक अनुमान रहेको छ । तर वास्तविक कारण थप अध्ययनपछि मात्र थाहा होला’, उनले भने । आगामी केही घण्टा अथवा आइतवार साँझसम्म बाढीको कारणबारे थप स्पष्ट हुने अधिकारीहरूले बताएका छन् । भोटेकोशी–त्रिशूली नदीमा हिमपहिरोले भयानक बाढी निम्त्याएको दुई महिना पनि नहुँदै बुढीगण्डकीमा बाढी आएको छ।

प्रधानमन्त्रीद्वारा जानकारी
बाढीबीच खोज तथा उद्धार प्रयासबारे प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत्‌ जानकारी गराएका छन् । ‘बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत्‌ इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ,’ उनले लेखेका छन् । ‘काठमाडौं रहेको कम्पोजिट क्विक रिएक्शन टीम समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ’, उनले लेखेका छन् । प्रधानमन्त्री शाहका अनुसार बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार