एन्फाका पदाधिकारी र कर्मचारीविरुद्ध मुद्दा 

शुक्रबार, असोज २३, २०८३

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा पेसी चढेको छ । उक्त मुद्दा शुक्रबार जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको बेञ्चमा पेसी तोकिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एन्फामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा बुधवार पेश गरेको थियो । सीआईबी प्रवक्ता एसएसपी अनुपमसमशेर जबराका अनुसार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा पेश भएको हो । सीआईबीले विश्वकप छनौट खेलका लागि बहराइनसँग प्रतिस्पर्धा गर्ने क्रममा भएको घोटालासम्बन्धी उजुरीका आधारमा अनुसन्धान भएको र अनुसन्धानका क्रममा दोषी देखिएका चार पदाधिकारीलाई पक्राउ गरेको थियो । उनीहरूका विरुद्ध खेलकुद विकास ऐन, २०७७ को दफा ३३ को (ग) तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ३ (क) अनुसार मुद्दा दायर भएको हो । सन् २०२४ को विश्वकप छनौट खेलका निम्ति त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सञ्चालन सम्भव नभएको भन्दै उक्त खेल बहराइनमा गराइएको थियो । त्यसक्रममा टिकट विक्रिबापतको २० हजार अमेरिकी डलर व्यक्तिहरूको खातामा राखिएको थियो । खेलाडी र पदाधिकारीको हवाई खर्च भने एन्फाको आधिकारिक खातामै भेटिएको एसएसपी जबराले बताए । त्यस्तै १५ करोडभन्दा बढीको खेल सामाग्री खरिदका क्रममा खरिद नियमावली विपरीत कार्य भएको र बिलबिजक पनि अस्पष्ट देखिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार