पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

बुधबार, असोज २१, २०८३

काठमाडौं ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा मारेको छ । विभागले बुधबार जबरासहित उनीनिकटका केही व्यक्ति र नातेदारको घरमा छापा मारेको विभाग स्रोतले लोकान्तरलाई जानकारी दियो ।  करिब आधा दर्जन व्यक्तिको घरमा छापा मारेर महत्त्वपूर्ण कागजात बरामद गरिएको स्रोतको दाबी छ । पूर्वप्रधानन्यायाधीश जबरालाई यही असोज ११ गते मध्यराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको घरबाटै ‘नियन्त्रणमा’ लिएको थियो । विनापुर्जी नियन्त्रणमा लिइएका जबरालाई करिब १२ घण्टा प्रहरी कार्यालय राखेर छाडिएको थियो । चोलेन्द्रको मोबाइलको डेटा नियन्त्रणमा लिएर गरिएको अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूसँगको 'कनेक्सन' खुलेको थिए । चोलेन्द्रसँग निरन्तर सम्पर्कमा रहेको देखिएका इनम सापकोटालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । चोलेन्द्रको 'कनेक्सन' पुर्पक्षका लागि कारागारमा रहेका व्यवसायी दीपक भट्टलगायतसँग पनि देखिएको प्रहरी स्रोतको दाबी छ । यसका अलावा, चोलेन्द्र प्रधानन्यायाधीश छँदाका अन्य कतिपय विषय पनि अनुसन्धानको घेरामा परेका छन् । स्रोतले बताएअनुसार विभागले चोलेन्द्रनिकट नवीन बस्नेतको घरमा समेत छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । भक्तपुर जिल्ला अदालतको भवन निर्माण ठेक्कासम्बन्धी अनियमितताको अनुसन्धान रोक्न उनै बस्नेतमार्फत ‘सेटिङ’ गरिएको आरोप छ । भक्तपुर जिल्ला अदालतको भवन निर्माणका करिब १ अर्ब २१ करोड २८ लाख रुपैयाँ लागत अनुमान रहेको थियो । यससम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । समानान्तर निर्माण सेवा प्रालिले पाएको ठेक्काको अनुसन्धान रोक्न बस्नेतले नै चोलेन्द्रमार्फत दबाब दिएको चर्चा उतिबेलै थियो ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार