कांग्रेस महाधिवेशनमा करिब नौ हजारका लागि भोजन

मंगलबार, असोज २०, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब नौं हजार जनाका लागि खानाको व्यवस्था गरिएको छ । भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले नेपाल न्यूज बैंकसँगको कुराकानीमा १९ गतेदेखि २२ गतेसम्म महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक तथा अन्यका लागि खानाको प्रबन्ध मिलाइएको बताए । उनले आफू महाधिवेशन कसरी सञ्चालन गर्ने भन्ने व्यवस्थापकीय भूमिकामा रहेको बताए । ‘१९ देखि २२ गतेसम्मका लागि खानाको प्रबन्ध मिलाएका छौँ। जसमा बिहानको खाजा, दिउँसोको खाना, २ बजेदेखि ५ बजेसम्म चिया–कुकिजहरू र ५ः३० बाट ८ः३० बजेसम्म बेलुकाको खाना व्यवस्थापन गरिएको छ । खानाका लागि भृकुटीमण्डप पुग्नुपर्छ,’ उनले भने ।  रानाभाटका अनुसार महाधिवेशनमा करिब ७ हजार ८ सय प्रतिनिधि छन्। पर्यवेक्षक, स्वयंसेवक तथा अन्यलाई समेत जोड्दा करिब ८ हजार ५ सयदेखि ९ हजार जनासम्मका लागि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार बिहानको खाजामा विभिन्न परिकार राखिएको छ । खाजामा भटौरा, अण्डा, फलफूल, ब्रेड राखिएको छ । दिउँसोको खानामा भेज तथा ननभेज परिकार समावेश गरिएको उनले बताए । ‘भेज–ननभेज छुट्टाएका छौं । मासुमा विहान कुखुरा र खसी तोकेका छौं । बेलुका चाहिँ सादा खाना छ,’ उनले भने । भोजन व्यवस्थापनका लागि आन्तरिक स्रोतबाट कोष व्यवस्थापन गरिएको उनले बताए। ‘हाम्रो आन्तरिक स्रोत, इन्ट्री फी र नजिक वा पार्टीकै साथीभाइहरूबाट नै त्यो कोषको म्यानेज गरेका छौँ,’ उनले भने । उनका अनुसार यसपटक पार्टीले आवासको व्यवस्था नगरी सहजीकरण मात्रै गर्नेछ। ‘पहिला–पहिला पार्टीले आवासको पनि दिन्थ्यो, अहिले आवासको फेसिलिटेर मात्र गरिदिएका छौं,’ उनले भने । 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार