कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक

आइतबार, असोज १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि प्रतिनिधि, नेता–कार्यकर्ता तथा समर्थक खुलामञ्चमा जमघट हुन थालेका छन् । दिउँसो २ बजे टुँडिखेलस्थित खुलामञ्चमा हुने उद्घाटन समारोहका लागि काठमाडौंका विभिन्न स्थानमा रहेका कांग्रेसका प्रतिनिधि तथा शुभेच्छुक खुलामञ्चतर्फ लागिरहेका छन् । महाधिवेशनका लागि गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, बालाजु, नयाँ बसपार्क, सुन्धारा र कलंकीलगायत क्षेत्रमा प्रतिनिधिहरूको बसोबासमा रहेका छन्। ती क्षेत्रबाट प्रतिनिधि तथा नेता–कार्यकर्ता खुलामञ्चतर्फ आउने क्रम बढेको छ । महाधिवेशनस्थलमा पुग्ने निजी सवारीसाधनका लागि धरहराको भूमिगत पार्किङ, पुरानो बसपार्क, भृकुटीमण्डप, राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ । उपत्यका बाहिरबाट प्रतिनिधि बोकेर आउने ठूला बसका लागि माइतीघरदेखि भद्रकालीसम्मको सडकको एक लेन प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा गर्ने जनाएको छ। महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । यसपटकको महाधिवेशन ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना हुँदैछ। उद्घाटनपछि असोज १९ र २० गते बन्दसक्र तथा असोज २१ र २२ गते नेतृत्व चयनका लागि निर्वाचन कार्यत्रम सञ्चालन हुनेछ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १४:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार