सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेता व्यवस्थापनका लागि नेपाली कांग्रेसले पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउने भएको छ । विधान मस्यौदा समितिलाई पार्टी पंक्तिबाट आएको सुझावका आधारमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने भएको हो । पार्टीको नेतृत्वमा आउने चाहने आंकाक्षीहरूको सहज व्यवस्थापनका लागि विधान संशोधन गर्न लागिएको हो । पार्टीभित्रका फरक मनोविज्ञानहरूलाई समेत समेट्नुपर्ने दबाबमा नेतृत्व परेपछि संख्या थप्न लागिएको हो । हाल विधानमा भएको व्यवस्थामा केन्द्रीय सदस्य २३१ जना हुने छ । पदाधिकारी १७ जना हुने विधानको व्यवस्थामा पनि संशोधन हुने भएको छ । उपसभापतिमा एक महिला अनिवार्य गर्ने गरी संशोधन गर्न लागिएको छ । दुई उपसभापति हुने विधानको व्यवस्थामा एक जना थप्ने गरी संशोधन गर्न लागिएको हो । उपसभापतिमा पनि महिला कोटा सुरक्षित गर्ने गरी विधान संशोधन गरिने भएको छ । साथै, उपसभापतिमा एक जना वरिष्ठ उपसभापतिको पद सिर्जना गर्न लागिएको छ । वरिष्ठ उपसभापति हुने विगतमा व्यवस्था थिएन । महामन्त्री पद भने दुई जना नै हुनेछ । पदाधिकारीमा सहमहामन्त्री पद पनि थप्न लागिएको छ । पार्टीका शीर्ष तहका नेताले दिएको जानकारी अनुसार सहमहामन्त्रीमा खुलातर्फ पनि प्रतिस्पर्धा हुने गरी नयाँ व्यवस्था राख्न लागिएको छ । ती नेताले भने, ‘सहमहामन्त्री समावेशिताका आधारमा र सभापतिले तीन जना मनोनीत गर्ने हालको व्यवस्था छ । यसमा संशोधन गरेर खुला तर्फ पनि सहमहामन्त्री पद राख्ने छलफल भएको छ ।’ विद्यमान व्यवस्था अनुसार जनजाति, मधेसी, थारू, मुस्लिम, महिला, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लस्टरमा प्रतिस्पर्धा गर्ने व्यवस्था छ । समावेशी क्लस्टरको अतिरिक्त सहमहामन्त्रीमा खुला पनि राख्न लागिएको हो । केन्द्रीय सदस्यको पद पनि थप सिर्जना गर्न लागिएको छ । खुलातर्फ ३५ जना हुने हालको व्यवस्थामा संशोधन गरेर संख्या थप्न लागिएको लागिएको छ । कति जना थप्नेबारे छलफलको चरणमै रहेको छ । महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले २३१ केन्द्रीय सदस्यमा ६१ जना सभापतिले मनोनीत गर्ने गरी विधान बनाएको थियो । उक्त संख्या थपिने भएको छ । वरिष्ठ उपसभापित सहित सहमहामन्त्री, केन्द्रीय सदस्य थप्दा हुने संख्याको बारेमा मस्यौदा समिति छलफल भइरहेको छ । ३५ वर्ष मुनिबाट २१ जना, पेशातग, बुद्धिजीवी लगायतबाट छनोट हुने ७, जनसम्पर्क समितिबाट चयन हुने ६ जनाको व्यवस्थामा भने संशोधन नहुने जानकारी गराइएको छ । विधान संशोधन मस्यौदा समितिले तयार गरेको विधान पार्टीमा पेश हुनेछ । केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि महाधिवेशन हलले पारित गर्नेछ । महामन्त्री पौडेल रहेको विधान संशोधन मस्यौदा समितिमा जीवन परियार, इश्वरी न्यौपाने, राजिव ढुङ्गाना सदस्य छन् भने सदस्य सचिवमा प्रताप पौडेल छन् ।