कांग्रेस महाधिवेशन : केन्द्रीय पदमा उठेका व्यक्ति प्रदेश र जिल्लामा उम्मेदवार बन्न नपाउने  

शनिबार, असोज १७, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेको व्यक्ति त्यसपछि हुने प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानमा रहेको वैधानिक व्यवस्थाबारे सबैलाई पुनः स्मरण गराएको हो ।  केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) मा निर्वाचनसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । विधान अनुसार पार्टीको कुनै पनि तहको अधिवेशनमा प्रतिस्पर्धा गरिसकेको व्यक्ति सोही अवधिमा आफूभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन पाउँदैन । सोही वैधानिक व्यवस्थालाई स्मरण गराउँदै समितिले आगामी १५औँ महाधिवेशनमा केन्द्रीय तहको कुनै पनि पदमा उम्मेदवारी दिने नेता तथा कार्यकर्ताहरू त्यसलगत्तै हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने प्रष्ट पारेको छ ।   यसैगरी, विज्ञप्तिमार्फत निर्वाचन समितिले पदेन महाधिवेशन प्रतिनिधि तथा भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूबाट प्रतिनिधित्व गर्ने पदेन प्रतिनिधिहरूलाई महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको समेत स्पष्ट पारेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार