सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा.सन्तोष उपाध्यायले पार्टीमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई बलियो बनाउन महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा धारणा सार्वजनिक गर्दै उनले क्षमता, योगदान र जनसम्बन्धका आधारमा युवालाई अवसर दिनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार नयाँ पुस्ताले कांग्रेसमा नेतृत्व पुस्तान्तरण मात्र होइन, नयाँ सोच, कार्यशैली, जवाफदेहिता र समयअनुकूल निर्णय क्षमताको अपेक्षा गरेको छ। बदलिँदो जनभावना र युवाको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थप गतिशील र जनमुखी बनाउनुपर्ने उनको भनाइ छ । उपाध्यायले पार्टीभित्र क्षमता, अनुभव, राजनीतिक संस्कार र संगठनको गहिरो बुझाई भएका थुप्रै युवा रहे पनि उनीहरूले पर्याप्त अवसर र जिम्मेवारी नपाएको उनको ठहर छ । नेताको गुणगान वा व्यक्तिगत पहुँचका आधारमा नभई योग्यता, योगदान र जनसम्बन्धका आधारमा अवसर दिने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा उनको जोड छ । ‘कांग्रेस लास र दासको पार्टी होइन भनिन्छ, तर यो भावना व्यवहारमा पनि देखिनुपर्छ,’ उनले भने, ‘पार्टीभित्र प्रश्न गर्न सक्ने, फरक मत राख्न सक्ने र स्वतन्त्र रूपमा काम गर्ने युवालाई पनि समान अवसर दिने राजनीतिक संस्कार निर्माण गर्नुपर्छ ।’ आफू कुनै व्यक्तिको चाकडी नगरी क्षमता र योगदानका आधारमा अवसर पाउनुपर्छ भन्ने पुस्ताको आवाज बन्न चाहेको उनले बताएका छन् । उनले आफ्नो मुख्य संकल्प ‘क्षमताको सम्मान, योगदानको मूल्यांकन र अवसरमा न्याय’ रहेको बताएका छन् । उपाध्यायले आफ्नो नेतृत्व यात्रा अछामबाट सुरु भएको र चिकित्सा, सामाजिक सेवा, संगठन, सञ्चार, खेलकुद तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको विवरण सार्वजनिक गरेका छन् । उपाध्यायले आफू करिब १७ वर्षदेखि नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघसँग आबद्ध रहेको बताएका छन्। नेपाल विद्यार्थी संघको केन्द्रीय समितिदेखि एनएसयू आइओएमको नेतृत्व, प्रचार–प्रसार समितिको संयोजन तथा कांग्रेसका महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा काम गरेको उनले उल्लेख गरेका छन् । यसलाई उनले संगठनलाई बाहिरबाट हेरेर नभई लामो समयदेखि संगठनभित्र रहेर काम गरेको अनुभवका रूपमा प्रस्तुत गरेका छन् । कांग्रेसको आगामी महाधिवेशनमा नयाँ पुस्ताको भूमिका बढाउनुपर्ने उनको जोड छ । पुरानो पुस्ताको अनुभव र योगदानसँगै नयाँ पुस्ताको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई जोडेर अघि बढे पार्टी थप प्रभावकारी बन्ने उनको भनाइ छ । सार्वजनिक संवाद र कान्तिपुर टिभी लगायतक सञ्चार क्षेत्रमा पनि उनले काम गरेका छन्। खेलकुद व्यवस्थापनतर्फ नेपाल भलिबल लिगमा कार्यकारी निर्देशक तथा सह मालिकका रूपमा काम उनले काम गरिरहेका छन् । त्यस्तै, अन्तर्राष्ट्रियस्तरमा ३० देशका करिब ४०० प्रतिनिधि सहभागी सम्मेलनको नेतृत्वदेखि विभिन्न अन्तर्राष्ट्रिय संस्थामा जिम्मेवारी सम्हालेको विवरण पनि उनले सार्वजनिक गरेका छन् । उनले चिकित्सा क्षेत्रको अनुभव, युवाको ऊर्जा, संगठनात्मक पृष्ठभूमि, सामाजिक सम्बन्ध र अन्तर्राष्ट्रिय अनुभवलाई आफ्नो नेतृत्व यात्राका आधारका रूपमा प्रस्तुत गरेका छन् । उपाध्यायले कांग्रेसको आगामी यात्रामा नयाँ पुस्तालाई केवल भविष्यको शक्ति नभई वर्तमान नेतृत्वकै महत्वपूर्ण हिस्साका रूपमा स्थापित गर्नुपर्ने बताए । आगामी स्थानीय निर्वाचनमा युवा नेतृत्व र उम्मेदवारको उल्लेख्य सहभागिता सुनिश्चित गर्दै कांग्रेसलाई जनतासँग थप जोड्ने अभियानमा सक्रिय हुने उनको भनाइ छ ।
‘नयाँ पुस्ता केवल कांग्रेसको भविष्य होइन, अब कांग्रेसको वर्तमान नेतृत्वको पनि महत्वपूर्ण शक्ति हो,’ उनले भने।
उनको भनाइमा आगामी महाधिवेशन नेतृत्व चयनसँगै पार्टीभित्र क्षमता, योगदान र अवसरको मापदण्डबारे बहस गर्ने अवसर पनि हो। त्यसैले नयाँ पुस्ताको प्रतिनिधित्व, संगठनात्मक अनुभव र आफ्नो कार्यक्षमताका आधारमा आफूलाई प्रस्तुत गर्दै महामन्त्रीका लागि अघि बढेको उनले बताएका छन्।