युवा पलायन रोक्ने सङ्कल्पसहित लेखराज जोशी कांग्रेस केन्द्रीय सदस्यको मैदानमा

शनिबार, असोज १७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता लेखराज जोशीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। जोशीले ’सबै अट्ने देश सबै अट्ने कांग्रेस’ अभियानसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । विद्यार्थी राजनीतिबाट उदायका जोशीले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र समयअनुकूल पुस्तान्तरणमुखी बनाउने खाकासहित उम्मेदवारी घोषणा गरेका छन् । ’युवा सहभागिता, सुशासन, आन्तरिक लोकतन्त्र र समग्र समृद्धिलाई राजनीतिक केन्द्रमा राखेर मैले काम गर्ने छु । अबका युवा उद्यमसँग जोडिनुपर्छ, नवीन प्रविधिसँग अभ्यस्त हुनुपर्छ। हाम्रो शिक्षा र राजनीतिक संस्कार पनि सोहि अनुरुप हुनुपर्छ। म पार्टीमा सिंगो युवाको भावना र आवाज बोक्ने उद्देश्यका साथ केन्द्रीय सदस्यको दावेदार रहेको छु,’ जोशीले भने । लामो समयदेखि कैलाली र कञ्चनपुरमा रहेर पार्टी संगठन, सामाजिक रूपान्तरण, शैक्षिक जागरण र जनजीविकाका मुद्दामा निरन्तर क्रियाशील रहँदै आएकोमा यस पटक महाधिवेशन प्रतिनिधिले आफूलाई विजयी गराएर थप ऊर्जा प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरे । कांग्रेसलाई केवल चुनाव जित्ने माध्यममा मात्र सीमित नराखी नयाँ युग र नयाँ पुस्ताको आवश्यकताअनुसार अघि बढाउन नीतिगत तहमा युवाको उपस्थिति अपरिहार्य रहेको उनको भनाइ छ । उनले कार्यकर्ता तथा नागरिकका समस्यालाई पार्टीको नीति निर्माणको केन्द्रमा ल्याउने प्रतिबद्धता जनाएका छन् । युवाहरूलाई उद्यमशीलता, प्रविधि र नेतृत्व विकासमा जोड्दै पार्टीको सदस्यता वितरण तथा सूचना प्रणालीलाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिएका छन् । युवाहरूलाई आफ्नै गाउँ–ठाउँमा स्वरोजगार बनाउने खालका बजेट तथा नीतिगत सुधारका लागि पार्टीका तर्फबाट स्पष्ट दृष्टिकोण तय गर्ने र गाउँबाट हुने तीव्र युवा पलायन रोक्न अवसरको खोजीसहितको भूमिका निर्वाह गर्ने उनको योजना छ । पार्टीभित्र गुटबन्दी र आन्तरिक खिचातानीको अन्त्य गर्दै निष्ठावान्, इमानदार र श्रम गर्ने कार्यकर्ताको उचित मूल्याङ्कन हुने पारदर्शी प्रणाली बसाल्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् । साथै, पार्टीका जनप्रतिनिधि तथा नेताहरूमाझ सुशासन र पारदर्शिता कायम गराउन भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइनुपर्ने उनको अडान छ । आफू कुनै व्यक्तिगत पद वा महत्त्वाकांक्षाका लागि नभई दुर्गमका कार्यकर्ताको आवाज र युवा पुस्ताको उज्ज्वल भविष्यका लागि मैदानमा उत्रिएको जोशीको भनाइ छ । नेपाली कांग्रेसभित्र संघर्षशील व्यक्तित्वको पहिचान बनाएका जोशी २०५३ सालदेखि विद्यार्थी राजनीति हुँदै पार्टीको मूलधार राजनीतिमा सक्रिय छन् । धनगढीस्थित पञ्चोदोय माविमा नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ सदस्य हुँदै केन्द्रीय सदस्यसम्म भएका छन् । यसका साथै पार्टीमा उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सचिव निर्वाचित हुँदै जिल्ला सदस्य, जिल्ला सहसचिव, महासमिति सदस्यसमेत भएर काम गरिसकेका छन् । विशेष महाधिवेशन सम्पन्न गर्न पनि जोशीले सुदूपश्चिमबाट सक्रिय भूमिका निर्वाह गरेका थिए । जोशी २०६२/६३ सालको जनआन्दोलनका घाइतेसमेत हुन् । उनले आन्दोलनका क्रममा पटक÷पटक गरी ६ महिना काराबास जीवन भोगिसकेका छन्। द्वन्द्वपीडित परिवारका सदस्य उनी तत्कालिन वाइसीएल आक्रमणमा परेरसमेत सक्त घाइने भएका थिए ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार