सन्दीप र लोकेशको आक्रामक अर्धशतकसँगै नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

शनिबार, असोज १०, २०८३

काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई जीतका लागि एक सय ५० रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर एक सय ४९ रन बनाएको हो । वर्षाका कारण निर्धारित समयमा सुरु हुन नसकेपछि खेल १५–१५ ओभरमा झारिएको थियो । नेपालका लागि सन्दीप जोरा र लोकेश बममे आक्रामक अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका २४ वर्षीय सन्दीपले अविजित ५७ रन बनाए । उनले केवल ३२ बलको सामना गरी तीन छक्का र पाँच चौका पनि हिर्काए । उनले चौकामार्फत अर्धशतक पूरा गरे । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पाँचौँ अर्धशतक हो । यो आक्रामक अर्धशतकसँगै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ सय रन पनि पूरा गरेका छन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएका लोकेश बलले पनि आक्रामक ब्याटिङ गर्दै केवल २२ बलमा ६ छक्का र एक चौकाको मद्दतले अविजित ५२ रन बनाए । २६ वर्षीय लोकेशले अन्तिम ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो अर्धशतक हो । ओपनर आसिफ शेखले पनि टोलीको खातामा २१ रन थपे । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले १५ बलको सामना गरी एक छक्का र एक चौका हिर्काए । ओपनर कुशल भुर्तेल चार रनमै पेभेलियन फर्किए भने कुशल मल्ल पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । गुलसन झा पनि दुई रन बनाउँदै आउट भए । नेपालले अतिरिक्त रूपमा ११ रन पायो । नेपालले यसअघि, शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो । जारी प्रतियोगितामा नेपाल, अफगानिस्तान र जापान समूह ‘ए’मा रहेका छन् । प्रतियोगिताको समूह ‘बी’ मलेसिया, हङकङ र ओमान रहेका छन् । दुबै समूहबाट दुई–दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । आईसीसीको पछिल्लो टी–२० वरीयताका आधारमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै क्वार्टरफाइनलमा स्थान बनाएका छन् । यदि, समूह विजेता बनेमा नेपालले क्वार्टरफाइनलमा श्रीलंकाको सामना गर्नेछ । तर, समूहको उप–विजेता बनेमा नेपाली टोलीले क्वार्टरफाइनलमा भारतको सामना गर्नुपर्नेछ ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार