सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जापानमा भइरहेको एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज अफगानिस्तानविरुद्ध नेपालले ५ विकेटको जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी हुँदै पूरा गरेको हो । नेपाललाई जित दिलाउन सन्दिप जोराले ३४ र रोहित पौडेलले ३३ रनको योगदान गरे । कुशल भुर्तेल शून्य रनमै आउट भए भने आसिफ शेख पनि २ रन बनाएर पेभेलियन फर्किए । त्यसपछि आएका जोराले ३५ बलमा ३४ रन बनाएर रनआउट हुनपुगे । कुशल मल्ल पनि ९ रनमा रनआउट भए । रोहितले ३२ बलमा ३३ रन हाने। दीपेन्द्र सिंह ऐरीले १८ बलमा १५ रन जोडे भने गुल्सन झाले १ बलमा १ रन लिँदै नेपाललाई जित दिलाए । नेपाललाई अफगानिस्तानले ९ अतिरिक्त रन दियो । बलिङतर्फ अफगानिस्तानका फारिदुन दावुदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले समान १ विकेट झारे । अफगानिस्तानले सुरुवात राम्रो गर्न सकेन । पहिले ब्याटिङ गरेको अफगानिस्तानका ओपनर मोहम्मद अक्रमले ८ बलमा २ रन मात्र बनाउँदा अर्का ओपनर हसन आइसाखिलले २ बल खेलेर शून्य रनमा आउट भए । उसका लागि करिम जनत ९, फैजल खान अहमदजाइ ३०, नजिबुल्लाह जाड्रान ३०, मोम्मद इशकले ७ रनको योगदान गरे । नटआउट नानगेयलिय खानले १७ रन तथा अब्दुल्लाहक अहमदजाइले १ रन बनाए । नेपालले ६ अतिरिक्त रन दिएको थियो । बलिङतर्फ नेपालका ललित राजवंशी र कुशल भुर्तेलले ३ र ४ विकेट लिए । कसिलो बलिङ गरेका ललितले १३ रन मात्र खर्चिए भने भुर्तेलले २१ रन दिए। अब नेपालले भोलि जापानसँग खेल्नेछ ।