सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विपद् प्रभावित विभिन्न क्षेत्रहरूमा नेपाली सेनासहितको संयुक्त टोलीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । आज साँझ साढे ६ बजेसम्मको विवरण अनुसार सेनाले हवाई साधनमार्फत विभिन्न भोटेकोशी बाढी प्रभावित इलाकाहरूबाट हालसम्म कुल ४ हजार १ सय ५७ जनाको सकुशल उद्धार गरेको छ । उद्धार गरिएकाहरूमा ३ हजार ८ सय ७४ जना स्वदेशी तथा २ सय ८३ जना विदेशी नागरिक रहेका छन् । विशेषगरी रसुवा र नुवाकोटस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा स्वदेशी तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ । ‘कम्पोजिट क्विक रियाक्सन टिम’ तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ । लाङटाङमा संयुक्त टोलीले सुरुङभित्र ड्रोन परिचालन गरी खोजी गरे तापनि हालसम्म केही फेला पर्न सकेको छैन । चिलिमे सुरुङभित्र जम्मा भएको लेदो र गेग्रान (डेब्रिज) हटाउन एक्साभेटर र डोडर प्रयोग गरिएको छ । हालसम्म करिब ८५ मिटर सफा गरिएको छ भने खोला वारपार गर्न नजिकै तुइन जडान कार्य भइरहेको छ । माथिल्लो त्रिशूली–१ मा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरू संयुक्त रूपमा खोजीमा जुटेका छन् । त्रिशूली–३ ‘ए’ पावरहाउस तथा सुरुङ इलाकामा टोलीले खोजी कार्य जारी राखेको छ । त्रिशूली–३ ‘बी’ मा तीन वटा एक्साभेटर र एउटा ब्याकहो लोडरको सहायताले उत्खनन गर्दै आवास गृह रहेको गहिराइसम्म पुगेर खोजी कार्य अघि बढाइएको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी (पूर्व) का प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन् । टोलीले घाइतेहरूको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक खुलाउने तथा आपत्कालीन स्वास्थ्य उपचार प्रदान गरिरहेको छ ।