सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज (शुक्रबार)कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । कुशे औंसीलाई भगवान् विष्णुको प्रतीक मानिने पवित्र कुश घरमा भित्र्याउने दिनका रूपमा लिइन्छ । वर्षभरि गरिने सम्पूर्ण शुभकर्म, धार्मिक अनुष्ठान र पितृकार्यहरू यही कुशद्वारा सम्पन्न हुने भएकाले यस औंसीको विशिष्ट स्थान छ । पुराणका कथाहरू अनुसार जीवित मानिसले शनिबार बिदा पाए जस्तै औंसीको दिन पितृहरूले पनि आफ्ना लोकहरू (स्वर्ग, नरक वा बैकुण्ठ) बाट बिदा पाउँछन् । विशेष गरी जसको मुक्ति भएको छैन, त्यस्ता नतरेका पितृहरूलाई यमराजले समेत औंसीका दिन छुट्टी दिन्छन् भन्ने धार्मिक विश्वास छ । आफ्ना बुवा जीवित हुनेहरूले मिष्ठान्न भोजन गराउने, राम्रा वस्त्र दिने र उहाँहरूलाई खुसी तथा सन्तुष्ट बनाउने गर्छन् । माता–पिता नहुनेहरूले भने नदी, तीर्थस्थल (जस्तै गोकर्ण, कागबेनी आदि) वा देवालयमा पुगेर तर्पण–श्राद्ध गरी पितृलाई तृप्त पार्ने काम गर्छन् । ज्योतिष तथा पण्डित बालकृष्ण आचार्यले कुशे औँसीलाई कुश घरमा भित्र्याउने दिनसँगै जीवित बुवाको सम्मान र दिवंगत पितृको सम्झना गर्ने विशेष दिनका रूपमा लिनुपर्ने बताए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले कुशलाई भगवान् विष्णुको प्रतीक मानिने र वर्षभरि गरिने धार्मिक तथा शुभ कर्ममा कुशको प्रयोग हुने भएकाले कुशे औँसीको विशेष महत्त्व रहेको बताए । उनले भने, ‘कुशे औँसी भनेको चाहिँ विशेषगरी कुश घरमा भित्र्याउने दिन हो । कुशलाई भगवान् विष्णुको प्रतीक मानिन्छ । त्यही कुशद्वारा नै हाम्रो वर्षदिनभरि हुने सबै शुभ कर्महरू, धार्मिक क्रियाकलापहरू ती कुशद्वारा नै सम्पादन हुन्छन् । त्यस कारण कुशे औँसी विशेष महत्त्वपूर्ण छ ।’ आचार्यले कुशे औँसीलाई पिता–पुर्खासँग जोडिएको पर्वका रूपमा पनि व्याख्या गरे। उनका अनुसार जीवित बुवा हुनेले बुवालाई सम्मान गर्ने, मिठा परिकार खुवाउने, राम्रा वस्त्र दिने तथा आफूले सकेअनुसार प्रसन्न बनाउने परम्परा छ । उनले भने, ‘जीवित मातापिता हुनेले अथवा आफ्नो पिता जीवित हुनेले पिताको नाममा, जसरी आमाको मुख हेर्ने दिनमा पनि आमालाई प्रसन्न बनाउने गरिन्छ, त्यस्तैगरी पिता समान मान्छे, पिता नभएको व्यक्तिले पिता समान कोही अरू व्यक्तिहरूको सम्मान गर्ने र वृद्धाश्रममा गएर आफूले सकेको चीज दिएर उहाँहरूलाई प्रसन्न बनाउने गर्न सकिन्छ ।’ बुवा दिवंगत भएका व्यक्तिले भने विभिन्न तीर्थस्थलमा पुगेर पितृका नाममा तर्पण, पीण्डदान तथा श्राद्ध गर्ने परम्परा रहेको उनले बताए । काठमाडौंमा गोकर्ण, चितवनमा नारायणी नदी तथा मुक्ति क्षेत्रसँग जोडिएका कागबेनी र मुक्तिनाथलगायतका स्थानमा पितृका नाममा धार्मिक कर्म गर्ने गरिएको उनको भनाइ छ । आचार्यले कुशको धार्मिकसँगै आयुर्वेदिक महत्त्व रहेको दाबीसमेत गरे। उनका अनुसार कुशको औँठी, माला तथा आसन प्रयोग गर्ने परम्परा रहेको छ । उनले भने, ‘कुश आफ्नो नजिक हुँदा अथवा कुशलाई प्रयोग गर्दा शरीरका इन्द्रियहरू, शरीरका अङ्ग–प्रत्यङ्गहरू एकदम स्वस्थ हुन्छन् । यस्ता विषयहरु वैज्ञानिकले पनि खोज–अनुसन्धान गरेका छन् ।’ उनले कुशको आसनमा बसेर पढाउँदा बालबालिकाको मन र मस्तिष्क विकासमा सहयोग पुग्ने धार्मिक मान्यता रहेको पनि बताए । तर अटिजम, एन्जाइटीलगायत स्वास्थ्य अवस्थाको उपचारमा भने यस्तो धार्मिक अभ्यासलाई चिकित्सकीय उपचारको विकल्पका रूपमा लिन नहुने विषयमा सावधानी आवश्यक हुन्छ । कुशे औँसीलाई पितृका लागि विशेष दिनका रूपमा व्याख्या गर्दै उनले औँसीका दिन पितृले छुट्टी पाउने धार्मिक मान्यता रहेको बताए । उनले भने, ‘पुराना कथाहरूमा औँसीको दिन पितृहरूले छुट्टी पाउछन भन्ने उल्लेख छ । विशेष गरी जसको मुक्ति भएको छैन, मुक्ति नभएका पितृहरू औँसीको दिन यमराजले पनि छुट्टी दिनुहुन्छ रे भन्ने भनाइ रही आएको छ ।’ उनका अनुसार यही धार्मिक मान्यताका कारण औँसीका दिन पितृको नाममा सिदा दान, तर्पण तथा अन्य धार्मिक कर्म गर्ने चलन छ । उनले भने, ‘१६ श्राद्धको १६ दिनसँगसँगै यो कुशे औँसीको दिन पितृहरूले छुट्टी पाएर आफ्ना केही सन्ततीहरूले केही दिन्छन् कि भनेर आश गर्दै हिँड्ने दिन हो । त्यही भएर सबैले आफ्ना दिवङ्गत पितृहरूको तर्पण, पुण्य कर्महरू गर्न राम्रो मानिन्छ।’ आचार्यले पछिल्लो समय विभिन्न विपद्का कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी भइरहेकाले उनीहरू जीवितै फर्किने आशा राख्नुपर्ने बताए । यसैबीच, आचार्यले विकास निर्माणका क्रममा धार्मिक तथा सांस्कृतिक पक्षलाई समेत ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । सडक, पुल तथा अन्य संरचना निर्माण गर्दा इन्जिनियर र प्राविधिकसँगै सम्बन्धित धार्मिक तथा सांस्कृतिक पक्ष बुझ्ने व्यक्तिलाई पनि सहभागी गराउनुपर्ने उनको भनाइ छ । कृष्णभीरलगायतका स्थानमा सडक निर्माणका क्रममा सर्प तथा नाग देखिएको विषयलाई जोड्दै उनले धार्मिक मान्यताअनुसार त्यस्ता स्थानको व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने, ‘जहाँनेर खोतलेपनि सर्प भेटिन्छन् । सर्पले आफ्नो ठाउँ बनाएर बसेका हुन्छन्। तिनलाई हामीले नाग देवताको रूपमा पूजा गर्छौं । विभिन्न ठाउँका मन्दिरलाई स्थानान्तरण गरिएको छ, वर–पिल काटिएको छ । तिनीहरुको विधिवत् रूपमा स्थानान्तरण गर्ने विधि अपनाउनुपर्छ ।’ आचार्यले विकास निर्माणका काममा धार्मिक गुरु तथा धर्मशास्त्रका ज्ञातालाई समेत समेटेर छुट्टै धार्मिक सहयोगी समूह बनाउन सरकारलाई सुझाव दिए । उनले नेपाललाई देवभूमिका रूपमा लिइने भएकाले धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षणमा पनि सरकार गम्भीर हुनुपर्ने बताए । धार्मिक स्थल आसपास माछामासु बिक्री तथा अन्य गतिविधिलाई व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ । आचार्यले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता भएकाहरू जीवितै फर्किने आशा राख्न र प्रभावित परिवारलाई धैर्य गर्न आग्रह गरे ।